बढ्दो सहरीकरणसँगै संकटमा भँगेरा

आइतबार, ७ भदौ २०८३, राति ११:३४
Font Size: 20px

काठमाडौं  नेपाली समाजमा मानिसको घरआँगनसँग नजिकको सम्बन्ध रहेको भँगेरा पछिल्लो समय सहरी क्षेत्रबाट क्रमशः हराउँदै गएको छ। तीव्र सहरीकरण, पुराना घर भत्किनु, नयाँ कंक्रिटका भवनमा गुँड बनाउने ठाउँ नहुनु र प्राकृतिक वासस्थानमा आएको परिवर्तनका कारण घर भँगेराको संख्या घट्दै गएको चराविद् तथा संरक्षणकर्मीहरूले बताएका छन्।

‘ढुकुरको गुँड लिसिङपिसिङ, जुरेलीको मानो, हामी सानो तोप चराको तीन तलाको छानो, भँगेरोको गुँडको व्यथा भने त्यै मान्छेले जान्यो’ भन्ने लोकोक्तिले मानिस र भँगेराबीचको पुरानो सम्बन्धलाई देखाउँछ। मानिसको घरआँगनमै बस्ने र मानव बस्तीमै आफ्नो जीवन बिताउने भँगेरा अहिले भने मानिसकै बदलिँदो जीवनशैली र निर्माण संरचनाका कारण संकटमा परेको संरक्षणकर्मीहरूको भनाइ छ।

वरिष्ठ चराविद् डा. हेमसागर बरालका अनुसार नेपालमा पाइने रुख भँगेरा र घर भँगेरामध्ये पछिल्लो समय विशेषगरी घर भँगेरा घट्ने क्रममा छन्। घर आसपासका रुखहरू काटिँदै जाँदा रुख भँगेरा मानिसको बस्तीबाट टाढिँदै गएको र आधुनिक घरमा गुँड बनाउन आवश्यक ठाउँ नहुँदा घर भँगेराले थप समस्या भोगिरहेको उहाँको भनाइ छ।

कीर्तिपुर टुसालका ७२ वर्षीय संरक्षणकर्मी ध्रुव बस्नेत पनि भँगेरा मानिसको पुरानो मित्र चरा भएको बताउनुहुन्छ। ‘भँगेरा बाजे’ उपनामले चिनिनुभएका बस्नेतका अनुसार कंक्रिटको सहरमा रूपान्तरण हुँदै गएको काठमाडौं उपत्यकामा भँगेरासँगै गौँथली, धोबी र सारौँ जस्ता चरासमेत पहिलेको तुलनामा कम देखिन थालेका छन्।

'अझ भँगेरा त आफ्नो घर अर्थात् गुँड बनाउनै नजान्ने भएकाले सहरबाट लोप हुने अवस्थामा पुगेका हुन्,' बस्नेत भन्नुहुन्छ।

घरमै गुँड बनाउने अभियान

मानिसको बस्तीवरिपरि बस्न रुचाउने सानो, फुर्तिलो र सामाजिक चरा भँगेरा संरक्षण गर्नुपर्छ भन्ने चेतना आफूले २०४५ सालतिरै पाएको बस्नेत बताउनुहुन्छ।

घर बनाउने क्रममा एक भोसिन्चा गोपालीले आफूलाई ‘ए बाजे, चखुँ प्वाँ राख्नु पर्छ, सबै टाल्नु हुँदैन’ भनेको कुरा अझै सम्झना रहेको उहाँ बताउनुहुन्छ। नेवारी भाषामा ‘चखुँ’ भन्नाले भँगेरा र ‘प्वाँ’ भन्नाले प्वाल अर्थात् भँगेराले गुँड बनाउन प्रयोग गर्ने ठाउँलाई जनाउँछ।

परम्परागत नेपाली समाजमा घरमा मानिससँगै चराचुरुङ्गी बस्नु शुभ मानिने संस्कार रहेको पनि बस्नेतको भनाइ छ। तर आधुनिक निर्माण शैलीमा घरका सबै प्वाल तथा खाली संरचना बन्द गरिँदा भँगेराले गुँड बनाउने ठाउँ नै पाउन छाडेको उहाँ बताउनुहुन्छ।

२०७२ सालको भूकम्पमा पुरानो घर भत्किएपछि नयाँ घरमा समेत आफूले भँगेराका लागि गुँडको व्यवस्था गरेको बस्नेत बताउनुहुन्छ। उहाँको घरमा अहिले ६७ वटा गुँड रहेको र टोलछिमेकका १६० वटा घरमा भँगेराका गुँड विस्तार गरिएको उहाँको भनाइ छ।

“भाले भँगेरो जता बसे भो, भँगेरीलाई गुँड भएन भने बच्चा कोरल्दिन र वंश हराउँछ। त्यसैले पनि आफ्ना घरमा गुँड राखिदिनुहोस्,” उहाँको आग्रह छ।

बस्नेतको सुझावअनुसार कीर्तिपुरसँगै चन्द्रागिरि नगरपालिका र काठमाडौं महानगरपालिका लगायतका क्षेत्रमा नयाँ घर बनाउँदा खट्प्वाल राख्ने तथा पुराना घरमा बाकस बनाएर भँगेराका लागि गुँड तयार गर्ने अभ्यास सुरु भएको छ।

बस्नेतको २०७९ सालमा प्रकाशित भँगेरा संरक्षणसम्बन्धी पुस्तकमा उल्लेख तथ्यअनुसार चन्द्रागिरि–९ की सविना रञ्जितले आफ्नो घरमा सबैभन्दा बढी ९१ वटा भँगेराका गुँड राख्नुभएको छ। भँगेरा संरक्षण अभियानबाट प्रभावित भएर शताब्दीपुरुष सत्यमोहन जोशीले समेत उहाँको घरमा गुँडसँगै कविता कोरिदिएको बस्नेत बताउनुहुन्छ।

भँगेरा हराउनु पर्यावरणका लागि पनि चिन्ता

भँगेरा केवल घरआँगनमा चिरबिर गर्ने चरा मात्र नभई पर्यावरण र कृषिप्रणालीको सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने चराविद्हरू बताउँछन्।

भँगेराले झुसिल्किरा, फट्याङ्ग्रा, लार्भालगायतका विभिन्न हानिकारक किरा खाने गर्छ। विशेषगरी बच्चा हुर्काउने समयमा भँगेराले दैनिक ठूलो संख्यामा किरा आफ्ना बच्चालाई खुवाउने भएकाले घरवरिपरिका तरकारी तथा कृषि बालीमा रासायनिक विषादी प्रयोगको आवश्यकता घटाउन सहयोग पुग्न सक्ने बताइएको छ।

त्यस्तै खेतबारी तथा गोदामवरपर झरेका अन्नका दाना र झारपातका बीउ खाएर पनि भँगेराले वातावरण सफा राख्न सहयोग गर्छ।

डा. बरालका अनुसार भँगेरा युगौँदेखि मानिसको साथीका रूपमा मानिसको घरपरिवार नजिकै बस्दै आएको चरा हो। घरवरपर पाइने लामखुट्टे, औँसा तथा अन्य साना किरा खाएर यसले मानव स्वास्थ्यमा समेत अप्रत्यक्ष योगदान पुर्‍याइरहेको उहाँ बताउनुहुन्छ।

भँगेराको चिरबिर आवाजले मानिसको वरपरको वातावरणलाई जीवन्त बनाउने भएकाले यसको उपस्थिति सहरी वातावरणको सौन्दर्यसँग समेत जोडिएको छ।

संरक्षणको प्रयास पनि बढ्दै

भँगेरा संरक्षणका लागि पछिल्लो समय जनचेतना र व्यक्तिगत पहल बढ्दै गएको छ। संरक्षणकर्मी बस्नेतका अनुसार काठमाडौंको पुनर्निर्माण भएको भद्रकाली मन्दिरमा समेत भँगेराका लागि गुँड राखिएको छ। गुठी संस्थानका घर तथा त्रिभुवन विश्वविद्यालयका भवनमा पनि भँगेराका लागि गुँड बनाउने अभियानमा सहयोग गरिएको उहाँ बताउनुहुन्छ।

भँगेरा संरक्षणलाई अभियानकै रूपमा अघि बढाउन सामाजिक सद्भाव तथा राष्ट्रिय एकता अभियान नेपालले हरेक वर्ष चैत १ गते भँगेरा दिवस मनाउँदै आएको छ। अभियानअन्तर्गत धेरै गुँड बनाउने तथा संरक्षणमा योगदान गर्ने व्यक्तिलाई सम्मान र पुरस्कार दिने गरिएको बस्नेतले जानकारी दिनुभयो।

कंक्रिटको विकाससँगै प्रकृतिका लागि पनि ठाउँ

भँगेराको घट्दो उपस्थिति एउटा सानो चराको समस्या मात्र नभई सहरी विकासको स्वरूपमाथि पनि प्रश्न हो। पुराना घरका प्वाल, रुख, झाडी र खुला ठाउँ हटाउँदै जाँदा मानिसका लागि सुविधाजनक भवन बने पनि चराचुरुङ्गीका लागि आवश्यक वासस्थान भने साँघुरिँदै गएको छ।

त्यसैले नयाँ भवन निर्माण गर्दा चराका लागि सुरक्षित गुँड राख्ने संरचना बनाउने, पुराना रूख र हरियाली संरक्षण गर्ने तथा घरआँगनमा साना बगैँचा र झाडी कायम राख्ने हो भने भँगेरालाई सहरमै संरक्षण गर्न सकिने संरक्षणकर्मीहरूको सुझाव छ।

भँगेराका लागि एउटा सानो प्वाल वा गुँड बनाउने ठाउँले एउटा परिवारलाई आश्रय दिन सक्छ। तर त्यससँगै संरक्षण हुने कुरा एउटा चरा मात्र होइन-सहरको जैविक विविधता, प्राकृतिक कीरा नियन्त्रण र मानिससँग जोडिएको पुरानो सहअस्तित्व पनि हो।

जैविक विविधता संरक्षणमा ग्रीन हाउजिङ

सहरीकरण र कंक्रिट विस्तारसँगै भँगेराको वासस्थान संकटमा पर्नु केवल जैविक विविधताको विषय होइन, सहरको विकास कति वातावरणमैत्री र दिगो छ भन्ने प्रश्न पनि हो। गुँड बनाउने ठाउँ, हरियाली, झाडी र पानीका स्रोत घट्दै जाँदा भँगेराजस्ता साना चरामा परेको असरले सहरी विकासमा प्रकृतिका लागि ठाउँ छुट्याउनुपर्ने आवश्यकता देखाउँछ।

यससँगै दिगो बैंकिङ र हरित वित्तको भूमिका पनि महत्वपूर्ण बन्न सक्छ। बैंक तथा वित्तीय संस्थाले भवन, हाउजिङ र सहरी पूर्वाधारमा कर्जा प्रवाह गर्दा आर्थिक प्रतिफलसँगै वातावरणीय प्रभावलाई पनि मूल्याङ्कन गर्न सक्छन्। हरित भवन, सहरी हरियाली, जैविक विविधता संरक्षण, वर्षाको पानी व्यवस्थापन तथा प्रकृतिमैत्री पूर्वाधारमा वित्तीय लगानी बढाउनु दिगो बैंकिङलाई प्रकृति संरक्षणसँग जोड्ने अवसर बन्न सक्छ।

यस अर्थमा भँगेरा संरक्षण एउटा चरालाई बचाउने अभियान मात्र होइन, प्रकृतिमैत्री सहर, वातावरणीय उत्तरदायित्व र दिगो वित्तीय प्रणाली निर्माणतर्फको संकेत पनि हो।

साभार : गोरखापत्र अनलाईन 

चाँदनी हमाल

प्रतिक्रिया 0