सिंगापुरले जारी गर्‍यो २.६ अर्ब डलरको ग्रीन बन्ड

शुक्रबार, ८ श्रावण २०८३, राति ११:३६
Font Size: 20px

सिंगापुर, जुलाई २४ । जलवायु परिवर्तनसँग जुध्दै दिगो आर्थिक विकासलाई गति दिन सिंगापुर सरकारले २.६ अर्ब सिंगापुर डलरसम्मको हरित सरकारी पूर्वाधार ऋणपत्र (ग्रीन बन्ड) जारी गर्ने घोषणा गरेको छ। यसबाट संकलन हुने रकम वातावरण संरक्षण र कम कार्बन उत्सर्जन गर्ने पूर्वाधार निर्माणमा खर्च गरिनेछ।

हरित ऋणपत्र भनेको सरकारले वा कुनै संस्थाले वातावरणमैत्री तथा जलवायु अनुकूल परियोजनाका लागि लगानी जुटाउन जारी गर्ने विशेष प्रकारको ऋणपत्र हो। यसबाट उठेको रकम अन्य सामान्य सरकारी खर्चमा प्रयोग गर्न पाइँदैन, बरु हरित परियोजनामै लगानी गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड हुन्छ।

सिंगापुरले जारी गरेको यो २० वर्षे ऋणपत्र सन् २०४६ मा परिपक्व हुनेछ। यसबाट उठेको रकम ऊर्जा बचत गर्ने सरकारी भवन, विद्युतीय सार्वजनिक यातायात, बाढी नियन्त्रण प्रणाली, समुद्री सतह बढ्दो जोखिमबाट जोगाउने संरचना, हरित ऊर्जा तथा अन्य दिगो पूर्वाधार विकासमा खर्च गरिनेछ।

यस ऋणपत्रप्रति अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षण निकै उच्च देखिएको छ। सरकारले करिब २.६ अर्ब सिंगापुर डलरसम्म उठाउने लक्ष्य राखे पनि ५.६ अर्ब सिंगापुर डलरभन्दा बढीको खरिद आवेदन परेको छ। यसले विश्वभरका लगानीकर्ताले हरित वित्त र वातावरणमैत्री परियोजनामा लगानी गर्न उच्च रुचि देखाइरहेको संकेत गर्छ।

विश्लेषकहरूका अनुसार सिंगापुरले हरित वित्तलाई राष्ट्रिय विकास नीतिसँग जोड्दै आफूलाई एसियाको प्रमुख दिगो वित्त केन्द्र बनाउने रणनीति अघि बढाइरहेको छ। यसले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न आवश्यक पूर्वाधार निर्माणका लागि निजी तथा संस्थागत लगानी आकर्षित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया 0