जलवायु वित्त र पर्वतीय एजेन्डामा केन्द्रित राष्ट्रिय सम्मेलन सम्पन्न

शनिबार, १४ कार्तिक २०८३, बेलुका ६:०९


काठमाडौं । नेपालमा जलवायु परिवर्तनका चुनौती, जलवायु वित्त परिचालन तथा जलवायु न्यायका विषयलाई केन्द्रमा राख्दै राष्ट्रिय जलवायु सम्मेलन २०२६ आयोजना गरिएको छ। आगामी कोप–३१ सम्मेलनको तयारी र नेपालको जलवायु प्राथमिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने उद्देश्यसहित अक्टोबर २९ मा काठमाडौंमा सम्मेलन सम्पन्न भएको हो।

‘कोप–३१ : हानि तथा क्षति, पर्वतीय एजेन्डा, जलवायु वित्त र जलवायु न्याय’ विषयवस्तुमा आयोजित सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गरेका थिए। सम्मेलनमा मन्त्रीहरू, उच्च सरकारी अधिकारी, विकास साझेदार, कूटनीतिक नियोगका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

सम्मेलनमा जलवायु परिवर्तनबाट प्रभावित समुदायको संरक्षण, जलवायुजन्य विपद्बाट हुने क्षतिको सम्बोधन, पर्वतीय क्षेत्रका चुनौती तथा जलवायु अनुकूलनका लागि आवश्यक वित्तीय स्रोत परिचालनका विषयमा छलफल भएको थियो।

एडीबीका देशीय निर्देशक कोच्वाले नेपालले जलवायु परिवर्तनसम्बन्धी गरेका प्रतिबद्धतालाई ठोस लगानी र व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका थिए। उनका अनुसार जलवायु कार्यले भविष्यमा उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणमा मात्र सीमित नभई विपद् सामना गर्ने क्षमता अभिवृद्धि, पूर्वाधारको संरक्षण र विकासका उपलब्धि सुरक्षित राख्न पनि सहयोग गर्नुपर्छ।

उनले नेपालको राष्ट्रिय जलवायु परिवर्तन नीतिको पुनरावलोकन तथा संशोधनमा एडीबीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, हिन्दुकुश हिमालय क्षेत्रमा अनुकूलन क्षमता र उत्थानशीलता अभिवृद्धि गर्ने ‘बिल्डिङ एडप्टेसन एन्ड रेजिलियन्स इन द हिन्दुकुश हिमालयाज’ पहलमार्फत जलवायु उत्थानशील पूर्वाधारको योजना तथा लगानी विस्तारमा सहयोग गर्ने बताएका थिए।

सम्मेलनमा मन्त्रीहरू, उच्च सरकारी अधिकारी, विकास साझेदार, कूटनीतिक नियोगका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। सम्मेलनले आगामी कोप–३१ अघि नेपालको जलवायु प्राथमिकता अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन, जलवायु वित्तमा पहुँच विस्तार गर्न र पर्वतीय क्षेत्रका समस्यालाई विश्वव्यापी जलवायु बहसको प्राथमिकतामा राख्न आवश्यक सहकार्यको आधार तयार गरेको छ।

प्रतिक्रिया 0