विश्वप्रसिद्ध शेनको आईपीओले देखाएको ईएसजीको बढ्दो महत्त्व

मंगलबार, ९ भदौ २०८३, दिउँसो १२:५६
Font Size: 20px

काठमाडौं । चीनमा स्थापना भएको अनलाइन फास्ट–फेसन कम्पनी शेन अन्ततः सेयर बजारमा प्रवेश गर्ने तयारीमा छ। तर पाँच वर्षअघि सुरु भएको यसको सार्वजनिक निष्कासन (आईपीओ) यात्रा अहिले वातावरणीय, सामाजिक तथा संस्थागत सुशासन (ईएसजी) सम्बन्धी चुनौतीले घेरिएको अवस्थामा हङकङ स्टक एक्सचेन्जसम्म पुगेको छ। 

रोयटर्सका अनुसार शेनले हङकङमा हुने प्रारम्भिक सार्वजनिक निष्कासनमार्फत करिब १ अर्ब ८० करोड अमेरिकी डलर जुटाउने तयारी गरेको छ। कम्पनीको मूल्यांकन करिब २७ अर्ब डलर आसपास हुने देखिएको छ। यो सन् २०२२ मा निजी लगानी चरणमा कायम भएको करिब ९८ अर्ब २० करोड डलरको मूल्यांकनभन्दा करिब ७० प्रतिशत कम हो।

शेनको सार्वजनिक निष्कासन यात्रा अमेरिका र बेलायतमा सेयर बजारमा प्रवेश गर्ने प्रयासबाट सुरु भएको थियो। तर कम्पनीको वातावरणीय प्रभाव, श्रम अभ्यास, आपूर्ति शृंखला, उपभोक्ता संरक्षण र संस्थागत सुशासनबारे उठेका प्रश्न तथा विभिन्न देशका नियामकीय अनुसन्धानले ती प्रयासलाई जटिल बनाउँदै आएका थिए।

कम्पनीले पछिल्ला वर्षमा ईएसजीसम्बन्धी आलोचना कम गर्न दिगोपनसम्बन्धी प्रतिवेदन, बाह्य सल्लाहकार र आन्तरिक नियन्त्रण प्रणालीमा सुधारजस्ता कदम अघि बढाएको छ। तर नियामकीय चुनौती भने पूर्ण रूपमा हटेका छैनन्। विभिन्न देशमा कम्पनीको व्यापारिक अभ्यास, उपभोक्ता संरक्षण तथा वातावरणीय दाबीमाथि अनुसन्धान र कारबाही भएका छन्।

शेनको संस्थागत सुशासनसमेत लगानीकर्ताका लागि चासोको विषय बनेको छ। कम्पनीको सेयर संरचनाले संस्थापकलाई तुलनात्मक रूपमा ठूलो मतदान अधिकार दिने भएकाले कम्पनीको निर्णय प्रक्रियामा स्वतन्त्र निगरानी कति प्रभावकारी हुन्छ भन्ने प्रश्न उठ्दै आएको छ।

त्यस्तै, शेनको ‘अल्ट्रा–फास्ट फेसन’ व्यवसाय मोडल नै वातावरणीय बहसको अर्को केन्द्रमा छ। कम्पनीले छोटो समयमा ठूलो संख्यामा नयाँ डिजाइन बजारमा ल्याउने र तुलनात्मक रूपमा सस्तो मूल्यमा कपडा बिक्री गर्ने गर्छ। यस्तो मोडलले अत्यधिक उत्पादन, कपडाको फोहोर तथा कार्बन उत्सर्जन बढाउन सक्ने भन्दै वातावरणीय क्षेत्रमा आलोचना हुँदै आएको छ।

त्यसैले शेनको हङकङ आईपीओ केवल एउटा ठूलो अनलाइन खुद्रा कम्पनी सेयर बजारमा प्रवेश गर्ने घटना मात्र नभई ईएसजी जोखिमले कम्पनीको मूल्यांकनमा कस्तो प्रभाव पार्छ भन्ने परीक्षणका रूपमा पनि हेरिएको छ।

२०२२ मा करिब ९८ अर्ब डलर मूल्यांकनमा पुगेको कम्पनी अहिले करिब २७ अर्ब डलरको मूल्यांकनमा सार्वजनिक बजारमा आउन खोज्नुले पनि लगानीकर्ताको दृष्टिकोणमा आएको परिवर्तन देखाउँछ। कम्पनीको वृद्धि सुस्त हुनु, लागत बढ्नु, नियामकीय दबाब र विश्वव्यापी व्यापार वातावरणमा आएको परिवर्तनले समेत यसको मूल्यांकनमा असर पारेको देखिन्छ।

शेनको आईपीओले विश्वभरका कम्पनीलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ—व्यवसायको तीव्र वृद्धि र ठूलो बजार हिस्सा मात्र पर्याप्त हुँदैन। वातावरण, श्रम, उपभोक्ता अधिकार र संस्थागत सुशासनसम्बन्धी जोखिमलाई बेवास्ता गर्दा त्यसको असर अन्ततः कम्पनीको बजार मूल्यांकनमै पर्न सक्छ।

प्रतिक्रिया 0