बार्षिक ६ करोड २० लाख टन ई-वेस्ट
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विस्तारसँगै यसको कार्बन पदचिह्न पनि बढ्दै गएको छ। डिजिटल उपकरणको उत्पादन र प्रयोगदेखि डेटा केन्द्र सञ्चालनसम्मका गतिविधिमा ठूलो मात्रामा ऊर्जा र स्रोत खपत हुने भएकाले आईसीटी क्षेत्र जलवायु परिवर्तन न्यूनीकरणको महत्वपूर्ण क्षेत्र बन्दै गएको छ।
विश्व आर्थिक मञ्चका अनुसार आईसीटी क्षेत्रबाट हुने हरितगृह ग्यास उत्सर्जन विश्वव्यापी उत्सर्जनको करिब १.५ देखि ४ प्रतिशत सम्म रहेको छ। कृत्रिम बुद्धिमत्ता (एआई), क्लाउड कम्प्युटिङ र डिजिटल सेवाको तीव्र विस्तारले कम्प्युटिङ क्षमता र डेटा केन्द्रको माग बढाइरहेका बेला आईसीटीको ऊर्जा खपत र कार्बन उत्सर्जनसम्बन्धी चुनौती पनि थपिँदै गएको छ।
विश्लेषणअनुसार सन् २०३० सम्म विश्वका डेटा केन्द्रले वार्षिक करिब ९४५ टेरावाट–घण्टा विद्युत् खपत गर्न सक्ने अनुमान छ। एआईसम्बन्धी कम्प्युटिङको माग बढ्दै जाँदा डेटा केन्द्रको ऊर्जा आवश्यकता अझ बढ्ने देखिएको छ। त्यसैले डिजिटल अर्थतन्त्र विस्तारसँगै त्यसबाट उत्पन्न हुने वातावरणीय प्रभावलाई पनि समानान्तर रूपमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ।
आईसीटीको कार्बन पदचिह्न घटाउने पहिलो महत्वपूर्ण उपायका रूपमा उत्सर्जनसम्बन्धी तथ्यांकको गुणस्तर सुधारलाई अघि सारिएको छ। धेरै संस्थाले आफ्ना प्रविधि उपकरण तथा सेवाबाट हुने उत्सर्जन अनुमान गर्दा आपूर्तिकर्ताको खर्च वा औसत उत्सर्जन दरमा निर्भर हुने गरेका छन्। तर यस्तो अनुमानले वास्तविक उत्सर्जनको पूर्ण तस्वीर नदिन सक्ने भएकाले उपकरण तथा सेवाको जीवनचक्रका विभिन्न चरणबाट हुने उत्सर्जनको थप विस्तृत तथ्यांक आवश्यक हुने उल्लेख छ।
त्यसैगरी, डिजिटल उपकरणको आयु लम्ब्याउनु कार्बन उत्सर्जन घटाउने अर्को महत्वपूर्ण उपाय हो। विश्वमा प्रत्येक वर्ष करिब ६ करोड २० लाख टन विद्युतीय तथा विद्युतीयजन्य फोहोर (ई–वेस्ट) उत्पादन हुने उल्लेख गर्दै उपकरणको उत्पादन चरणमै ठूलो मात्रामा कार्बन उत्सर्जन हुने जनाइएको छ। उदाहरणका रूपमा, एउटा सामान्य ल्यापटपको कार्बन पदचिह्नको ८० प्रतिशतसम्म हिस्सा उत्पादन प्रक्रियाबाटै आउन सक्ने उल्लेख गरिएको छ।
यसको अर्थ नयाँ उपकरण छिटो–छिटो प्रतिस्थापन गर्नुको सट्टा विद्यमान उपकरणलाई लामो समय प्रयोग गर्ने, मर्मत गर्ने, आवश्यक पार्टपुर्जा परिवर्तन गर्ने, स्तरोन्नति गर्ने र पुनःप्रयोग गर्ने अभ्यासले उत्सर्जन घटाउन महत्वपूर्ण योगदान दिन सक्छ। यसले ई–वेस्टको मात्रा घटाउनुका साथै नयाँ उपकरण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ र ऊर्जाको मागसमेत कम गर्न सक्छ।
डेटा केन्द्रको ऊर्जा दक्षता सुधार पनि अर्को प्रमुख क्षेत्र हो। डेटा केन्द्रमा सर्भर सञ्चालनसँगै शीतलीकरण, विद्युत् वितरण र अन्य पूर्वाधारमा ऊर्जा खर्च हुन्छ। डब्लूईएफका अनुसार पावर युजेज इफेक्टिभनेस (पीयूई) करिब १.१ भएको डेटा केन्द्रले उद्योगको औसतको तुलनामा अतिरिक्त अर्थात् ओभरहेड ऊर्जा खपत ८४ प्रतिशतसम्म कम गर्न सक्छ। प्रभावकारी शीतलीकरण, तरल शीतलीकरण प्रविधि, विद्युत् वितरण प्रणाली सुधार र आवश्यकताअनुसार कम्प्युटिङ क्षमता व्यवस्थापनले ऊर्जा दक्षता बढाउन सक्ने उल्लेख छ।
आईसीटीको कार्बन पदचिह्न उपकरण र डेटा केन्द्रमै सीमित हुँदैन। उपकरण उत्पादनपछि त्यसको ढुवानी, प्याकेजिङ र आपूर्ति व्यवस्थापनले पनि उत्सर्जन थप्छ। त्यसैले हवाई ढुवानीमा निर्भरता घटाएर सम्भव भएसम्म समुद्री ढुवानी प्रयोग गर्ने, विभिन्न सामानको ढुवानीलाई एकीकृत गर्ने, थोक प्याकेजिङ प्रयोग गर्ने तथा अनावश्यक प्लास्टिक प्याकेजिङ घटाउने उपायबाट पनि उत्सर्जन कम गर्न सकिने विश्लेषण छ।
विश्व आर्थिक मञ्चले आईसीटी क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरणलाई केवल प्रविधि विभागको जिम्मेवारीका रूपमा नहेरी खरिद, दिगोपन, प्रविधि व्यवस्थापन र उपकरण आपूर्तिकर्ताबीच सहकार्य आवश्यक रहेको जनाएको छ। संस्थाहरूले आफ्नो आईसीटीसम्बन्धी उत्सर्जनको आधाररेखा तयार गरी तथ्यांकको गुणस्तर सुधार गर्ने, उपकरणको जीवनचक्र बढाउने र डेटा केन्द्रलाई ऊर्जा–दक्ष बनाउने रणनीति अपनाउनुपर्नेमा जोड दिइएको छ।
यसरी डिजिटल प्रविधिको प्रयोग विस्तार रोक्नेभन्दा पनि कम ऊर्जा र कम स्रोतमा बढी डिजिटल सेवा उत्पादन गर्ने दिशामा आईसीटी क्षेत्रलाई अघि बढाउनु आवश्यक देखिन्छ। राम्रो तथ्यांक, लामो उपकरण जीवनचक्र, ऊर्जा–दक्ष डेटा केन्द्र तथा व्यवस्थित आपूर्ति शृंखलामार्फत आईसीटी क्षेत्रको बढ्दो कार्बन पदचिह्नलाई नियन्त्रण गर्न सकिने विश्लेषणको निष्कर्ष छ।
प्रतिक्रिया 0