हाम्रो बैंकिङ । विश्वव्यापी वित्तीय क्षेत्रमा वातावरणीय संरक्षण, जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा दिगो वित्त (Sustainable Finance) लाई प्राथमिकतामा राख्ने नेतृत्वकर्ताहरूको भूमिका बढ्दै गएको छ। बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो लगानी रणनीति, कर्जा प्रवाह, जोखिम व्यवस्थापन र व्यावसायिक सञ्चालनमा दिगोपनालाई समावेश गर्न थालेसँगै यस क्षेत्रमा नेतृत्व गर्ने अधिकारीहरूको महत्त्व पनि बढेको छ।
यही सन्दर्भमा Sustainability Magazine ले वित्तीय सेवा क्षेत्रका दिगोपना नेतृत्वकर्ताहरूको उत्कृष्ट १० जनाको सूची सार्वजनिक गरेको छ। सन् २०२६ को ‘Top 250 Leaders in Sustainability’ सूचीबाट छनोट गरिएका यी अधिकारीहरूले विश्वका प्रमुख बैंक, बीमा कम्पनी, भुक्तानी सेवा प्रदायक तथा वित्तीय संस्थाहरूमा दिगोपनासम्बन्धी रणनीति अघि बढाइरहेका छन्।
म्यागजिनले अक्टोबर २८, २०२६ मा प्रकाशित गरेको सूचीमा HSBC, Mastercard, Citi, Allianz, Visa, UBS, Zurich Insurance, Deutsche Bank र Morgan Stanley जस्ता विश्वप्रसिद्ध वित्तीय संस्थाका अधिकारीहरू समेटिएका छन्। सूचीमा जलवायु जोखिम व्यवस्थापन, नेट जिरो लक्ष्य, दिगो लगानी, वातावरणीय तथा सामाजिक उत्तरदायित्व र हरित वित्तलाई संस्थागत रणनीतिसँग जोड्ने नेतृत्वकर्ताहरूलाई प्राथमिकता दिइएको छ।
को–को छन् उत्कृष्ट १० को सूचीमा?
Sustainability Magazine ले सार्वजनिक गरेको वरीयताअनुसार वित्तीय सेवा क्षेत्रमा दिगोपनाको नेतृत्व गर्ने उत्कृष्ट १० अधिकारीहरू निम्न छन्।
१. जुलियन वेन्ट्जेल (Julian Wentzel) – HSBC
सूचीको पहिलो स्थानमा बेलायती बहुराष्ट्रिय बैंक HSBC का ग्रुप चिफ सस्टेनेबिलिटी अफिसर जुलियन वेन्ट्जेल रहेका छन्। सन् २०२५ देखि उक्त जिम्मेवारी सम्हालिरहेका उनीसँग २५ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ। बैंकलाई नेट जिरो उत्सर्जनको लक्ष्यतर्फ अघि बढाउने, ग्राहकलाई दिगो व्यावसायिक रूपान्तरणमा सहयोग गर्ने तथा वित्तीय क्षेत्रका जटिल चुनौतीको समाधान खोज्ने उनको मुख्य जिम्मेवारी रहेको छ।
२. एलेन ज्याकोव्स्की (Ellen Jackowski) – Mastercard
दोस्रो स्थानमा Mastercard की चिफ सस्टेनेबिलिटी अफिसर तथा कार्यकारी उपाध्यक्ष एलेन ज्याकोव्स्की छिन्। उनले संस्थाको विश्वव्यापी सञ्जालमार्फत दिगोपनाका कार्यक्रम अघि बढाउँदै आएकी छन्। जलवायु परिवर्तन, मानव अधिकार, डिजिटल पहुँच र वातावरणमैत्री उत्पादनका क्षेत्रमा उनको अनुभव रहेको छ। यसअघि उनले HP मा १४ वर्षभन्दा बढी समय दिगो विकाससम्बन्धी रणनीतिक नेतृत्व गरेकी थिइन्।
३. भ्यालरी स्मिथ (Valerie Smith) – Citi Bank
तेस्रो स्थानमा अमेरिकी वित्तीय संस्था Citi Bank की म्यानेजिङ डाइरेक्टर तथा चिफ सस्टेनेबिलिटी अफिसर भ्यालरी स्मिथ छिन्। सन् २०१९ देखि उक्त जिम्मेवारीमा रहेकी उनले बैंकको दिगो प्रगति रणनीति कार्यान्वयनमा नेतृत्व गरिरहेकी छन्। Citi को एक ट्रिलियन अमेरिकी डलरको दिगो वित्त लक्ष्य तथा सन् २०५० सम्म नेट जिरो उत्सर्जन हासिल गर्ने योजनालाई अघि बढाउन उनको भूमिका महत्त्वपूर्ण छ।
४. एमिलिया माकारी (Emilia Macarie) – Allianz
चौथो स्थानमा जर्मन बीमा कम्पनी Allianz की चिफ सस्टेनेबिलिटी अफिसर एमिलिया माकारी छिन्। उनले बीमा व्यवसाय तथा लगानीलाई दिगो विकाससँग जोड्ने रणनीतिमा काम गरिरहेकी छन्। Allianz ले सन् २०५० सम्म आफ्नो बीमा व्यवसाय र लगानीलाई नेट जिरो बनाउने प्रतिबद्धता जनाएको छ। साथै, सन् २०१९ को आधार वर्षको तुलनामा सन् २०३० सम्म सञ्चालनसम्बन्धी उत्सर्जन ६५ प्रतिशत घटाउने लक्ष्य राखेको छ।
५. नेट हर्स्ट (Nate Hurst) – Visa
पाँचौँ स्थानमा Visa का चिफ सस्टेनेबिलिटी अफिसर तथा ग्लोबल हेड अफ कर्पोरेट रेस्पोन्सिबिलिटी नेट हर्स्ट छन्। उनीसँग दिगोपना तथा सामाजिक प्रभावसम्बन्धी क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव छ। जलवायु कार्ययोजना, संस्थागत उत्तरदायित्व, सामाजिक समावेशिता र वातावरणीय संरक्षणलाई व्यावसायिक रणनीतिसँग जोड्ने काममा उनको अनुभव रहेको छ।
६. क्रिस्टियन लाइत्ज (Christian Leitz) –
छैटौँ स्थानमा स्विस बैंक UBS का चिफ सस्टेनेबिलिटी अफिसर क्रिस्टियन लाइत्ज छन्। सन् २०२५ देखि उक्त जिम्मेवारीमा रहेका उनले संस्थाको दिगोपना रणनीतिलाई कार्यान्वयन गरिरहेका छन्। ग्राहक तथा संस्थाको दीर्घकालीन हितलाई ध्यानमा राख्दै दिगो विकासका कार्यक्रम अघि बढाउनु उनको प्रमुख जिम्मेवारी हो। उनी UBS मा २३ वर्षभन्दा बढी समयदेखि कार्यरत छन्।
७. लिन्डा फ्राइनर (Linda Freiner) – Zurich Insurance
सातौँ स्थानमा Zurich Insurance की ग्रुप चिफ सस्टेनेबिलिटी अफिसर लिन्डा फ्राइनर छिन्। उनले ५० भन्दा बढी बजारमा फैलिएको संस्थाको विश्वव्यापी दिगोपना रणनीतिको नेतृत्व गरिरहेकी छन्। जलवायु परिवर्तनको जोखिम, प्रकृतिसम्बन्धी जोखिम, जिम्मेवार लगानी तथा दिगोपना सुशासनलाई संस्थागत कार्यप्रणालीमा समावेश गर्ने उनको भूमिका रहेको छ।
८. आन्द्रे आर्जेन्टन (Andre Argenton) – Dow
आठौँ स्थानमा Dow का चिफ सस्टेनेबिलिटी अफिसर तथा उपाध्यक्ष आन्द्रे आर्जेन्टन छन्। उनले अनुसन्धान तथा विकास, वातावरणीय सुरक्षा र दिगोपनासम्बन्धी गतिविधिको नेतृत्व गरिरहेका छन्। सन् १९९९ देखि Dow मा आबद्ध उनीसँग उत्पादन विकास, प्रविधि अनुसन्धान र औद्योगिक नवप्रवर्तनमा लामो अनुभव छ।
९. योर्ग आइगेनडोर्फ (Jörg Eigendorf) – Deutsche Bank
नवौँ स्थानमा Deutsche Bank का चिफ सस्टेनेबिलिटी अफिसर योर्ग आइगेनडोर्फ छन्। सन् २०२२ देखि उक्त जिम्मेवारीमा रहेका उनले दिगो आर्थिक रूपान्तरणका लागि वित्तीय सहयोग, लगानीबाट सिर्जना हुने कार्बन उत्सर्जन न्यूनीकरण तथा वातावरणीय र सामाजिक उत्तरदायित्वसम्बन्धी नीति निर्माणमा काम गरिरहेका छन्।
१०. जेसिका एल्सफोर्ड (Jessica Alsford) – Morgan Stanley
दशौँ स्थानमा Morgan Stanley की चिफ सस्टेनेबिलिटी अफिसर तथा EMEA चिफ एडमिनिस्ट्रेटिभ अफिसर जेसिका एल्सफोर्ड छिन्। उनी संस्थाको Institute for Sustainable Investing की अध्यक्षसमेत हुन्। दिगो लगानी, वातावरणीय, सामाजिक तथा सुशासन (ESG) अनुसन्धान र वित्तीय क्षेत्रमा दिगोपनासम्बन्धी रणनीति विकासमा उनको अनुभव रहेको छ।
वित्तीय क्षेत्रमा किन बढ्दै छ दिगोपनाको महत्त्व?
वित्तीय संस्थाहरूको भूमिका अब निक्षेप संकलन, कर्जा प्रवाह र नाफा आर्जनमा मात्र सीमित छैन। जलवायु परिवर्तन, प्राकृतिक विपद्, वातावरणीय क्षति र सामाजिक असमानताले वित्तीय स्थायित्वमै प्रभाव पार्न थालेपछि बैंक तथा बीमा कम्पनीहरूले दिगोपनालाई आफ्नो मूल व्यावसायिक रणनीतिमा समावेश गर्न थालेका छन्।
विशेषगरी बैंकहरूले कुन क्षेत्रमा कर्जा प्रवाह गर्ने, वातावरणीय जोखिम भएका परियोजनामा कसरी लगानी गर्ने र हरित अर्थतन्त्रमा कसरी वित्तीय स्रोत परिचालन गर्ने भन्ने विषयलाई प्राथमिकता दिन थालेका छन्।
त्यस्तै, बीमा कम्पनीहरूले जलवायुजन्य विपद्बाट उत्पन्न हुन सक्ने आर्थिक क्षतिको जोखिम मूल्याङ्कन तथा व्यवस्थापनमा ध्यान दिन थालेका छन्। भुक्तानी सेवा प्रदायकहरूले पनि डिजिटल पहुँच, वित्तीय समावेशीकरण र वातावरणमैत्री व्यावसायिक अभ्यासलाई प्राथमिकता दिन थालेका छन्।
यसले वित्तीय क्षेत्रमा दिगोपना अब सामाजिक उत्तरदायित्वमा मात्र सीमित नरही जोखिम व्यवस्थापन, लगानीको गुणस्तर र दीर्घकालीन व्यावसायिक प्रतिस्पर्धासँग जोडिएको देखाउँछ।
नेपालको बैंकिङ क्षेत्रका लागि पनि यो विषय उत्तिकै महत्त्वपूर्ण छ। जलवायु परिवर्तनबाट प्रभावित कृषि, ऊर्जा, पर्यटन तथा पूर्वाधार क्षेत्रमा लगानी गर्ने बैंकहरूले वातावरणीय तथा सामाजिक जोखिम मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता बढ्दै गएको छ। साथै, हरित कर्जा, नवीकरणीय ऊर्जा, जलवायु वित्त र दिगो बैंकिङलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।
प्रतिक्रिया 0