एजेन्सी । अन्तर्राष्ट्रिय जलवायु सम्मेलन कोप–३१ संयुक्त राष्ट्रसंघको इतिहासमै सबैभन्दा लामो जलवायु सम्मेलन बनेको छ। टर्कीको अन्ताल्यामा आयोजित सम्मेलन निर्धारित समयभन्दा ४४ घण्टा बढी चलेको हो। जीवाश्म इन्धनको प्रयोग घटाउने विषयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसक्दा सम्मेलन लम्बिएको हो।
सम्मेलनको अन्तिम सम्झौताको मस्यौदामा जीवाश्म इन्धन (कोइला, पेट्रोलियम र प्राकृतिक ग्यास) को स्पष्ट उल्लेख नगरिएपछि युरोपेली संघ (ईयू) ले त्यसप्रति आपत्ति जनाएको छ। ईयूले जीवाश्म इन्धनलाई जलवायु परिवर्तनको प्रमुख कारक मान्दै त्यसको प्रयोगबाट बाहिरिने विषयलाई स्पष्ट रूपमा समेट्नुपर्ने अडान राखेको छ। ईयूका तर्फबाट वार्तामा सहभागी आयरल्यान्डका जलवायु तथा ऊर्जा मन्त्री डाराघ ओ’ब्रायनले जीवाश्म इन्धनको उल्लेख नै नभएको सम्झौता स्वीकार गर्न नसकिने बताएका छन्।
टर्की र अस्ट्रेलियाले संयुक्त रूपमा अघि सारेको ‘एन्टाल्या प्याक्ट’ को मस्यौदामा सन् २०२३ मा भएको जीवाश्म इन्धनबाट क्रमशः बाहिरिने विश्वव्यापी सहमतिको अप्रत्यक्ष उल्लेख भए पनि कोइला, तेल र ग्यासलाई स्पष्ट रूपमा समेटिएको थिएन। यसप्रति ईयूका साथै साना टापु राष्ट्रहरूले समेत असन्तुष्टि जनाएका छन्। अर्कोतर्फ, साउदी अरेबियालगायत जीवाश्म इन्धन उत्पादनमा निर्भर राष्ट्रहरूले यसको स्पष्ट उल्लेखप्रति विरोध जनाउँदै आएका छन्।
सम्मेलनमा जीवाश्म इन्धनको प्रयोग घटाउने गति, कार्बन क्याप्चर प्रविधिको विस्तार तथा विकासशील राष्ट्रलाई उपलब्ध गराउने जलवायु वित्तसम्बन्धी विषयमा समेत मतभेद देखिएको छ। मस्यौदामा सन् २०३५ सम्म कुल अन्तिम ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्याउने प्रस्ताव गरिएको छ। तर उक्त विद्युत् नवीकरणीय ऊर्जाबाटै उत्पादन हुनुपर्ने स्पष्ट व्यवस्था गरिएको छैन।
करिब दुई सातासम्म चलेको वार्तापछि पनि मुख्य सम्झौतामा सहमति जुट्न नसक्दा सम्मेलनको समापन अन्योलमा परेको थियो। अन्ततः नोभेम्बर २२ मा अन्तिम बैठकमा पनि सहमति कायम हुन नसकेपछि प्रस्तावित मुख्य सम्झौता पारित हुन सकेन। करिब २०० देशको सहमति आवश्यक पर्ने जलवायु वार्तामा देखिएको यो गतिरोधले विश्वव्यापी जलवायु प्रतिबद्धता कार्यान्वयनमा थप चुनौती देखाएको छ।
प्रतिक्रिया 0