हरित वित्त, जलवायु उत्थानशील र वातावरण संरक्षण प्राथमिकतामा
काठमाडौं । एनएमबी बैंक र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच हरित वित्त, जलवायु उत्थानशीलता र दिगो विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। साझेदारीमार्फत वैज्ञानिक अनुसन्धान र वित्तीय क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ गर्ने लक्ष्य लिइएको छ।
समझदारीअनुसार इसिमोडको क्षेत्रीय अनुसन्धान, वैज्ञानिक ज्ञान तथा क्षमता विकाससम्बन्धी विशेषज्ञतालाई एनएमबी बैंकको वित्तीय क्षेत्रको अनुभवसँग जोडिनेछ। यसबाट जलवायु तथा वातावरणसम्बन्धी वैज्ञानिक तथ्य र अनुसन्धानलाई व्यवहारिक तथा लगानीयोग्य परियोजनामा रूपान्तरण गर्ने अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साझेदारीले विशेषगरी हरित वित्त, जलवायु उत्थानशील विकास र वातावरण संरक्षणसँग सम्बन्धित पहललाई प्राथमिकता दिनेछ। वैज्ञानिक प्रमाणमा आधारित समाधानलाई वित्तीय स्रोतसँग जोड्दै दिगो आर्थिक गतिविधि तथा लगानीका नयाँ सम्भावना विकास गर्ने प्रयास गरिने जनाइएको छ।
हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेका जोखिम, पारिस्थितिक प्रणालीमाथिको दबाब तथा समुदायको उत्थानशीलताका चुनौतीलाई सम्बोधन गर्न पनि सहकार्यले योगदान पुर्याउने अपेक्षा गरिएको छ। यसका लागि दुवै संस्थाले ज्ञान, अनुसन्धान र वित्तीय क्षेत्रबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउनेछन्।
एनएमबी बैंक र इसिमोडबीचको यो साझेदारीले विज्ञानमा आधारित जलवायु समाधानलाई वित्तीय निर्णय र लगानीसँग जोड्ने प्रयासलाई अघि बढाउनेछ। दीर्घकालीन रूपमा यसले वातावरण संरक्षणसँगै दिगो आर्थिक विकास र समुदायको उत्थानशीलता बलियो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 0