भारतको ऊर्जा भण्डारणमा अडानी ग्रीनको दबदबा

५० प्रतिशत भन्दा बढी बजार हिस्सा

आइतबार, १८ आश्विन २०८३, राति ८:४२


भारतको नवीकरणीय ऊर्जा कम्पनी अडानी ग्रीन इनर्जी ले आफ्नो सञ्चालनमा रहेको ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस) को क्षमता बढाएर ६.६३ गिगावाट घन्टा (GWh) पुर्‍याएको छ। गुजरातको खावडामा रहेको यो परियोजनाको क्षमता यसअघि सन् २०२६ को जुनमा ३.५५ GWh थियो।

कम्पनीका अनुसार नयाँ विस्तारसँगै भारतमा सञ्चालनमा रहेको कुल ब्याट्री ऊर्जा भण्डारण क्षमतामध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा अडानी ग्रीन इनर्जीको भएको छ। भारतको सञ्चालनमा रहेको कुल बीईएसएस क्षमता करिब १२.६ GWh रहेको कम्पनीले जनाएको छ। 

खावडामा रहेको ६.६३ GWh क्षमताको प्रणालीलाई कम्पनीले एकै स्थानमा सञ्चालनमा रहेको विश्वकै ठूलो ब्याट्री ऊर्जा भण्डारण प्रणाली भनेको छ। कम्पनीले खावडामा नवीकरणीय ऊर्जा विकाससँगै यो भण्डारण प्रणाली निर्माण गरिरहेको हो।

अडानी ग्रीनले खावडामा ५३८ वर्ग किलोमिटर क्षेत्रमा ३० गिगावाट क्षमताको नवीकरणीय ऊर्जा परियोजना विकास गरिरहेको छ। बीईएसएस निर्माण सुरु गरेको करिब १४ महिनामै ६.६३ GWh क्षमता सञ्चालनमा ल्याइएको कम्पनीको दाबी छ। पछिल्लो थपिएको क्षमता निर्माण सुरु भएको १० महिनामै सञ्चालनमा आएको हो। 

कम्पनीका अनुसार ६.६३ GWh क्षमताको यो प्रणालीले दैनिक रूपमा करिब २० लाख घरलाई आवश्यक पर्ने स्वच्छ ऊर्जा भण्डारण गर्न सक्छ। त्यस्तै, नागपुर, पटना वा विशाखापट्टनमजस्ता सहरको उच्च विद्युत् मागलाई केही घण्टासम्म सहयोग गर्न सक्ने क्षमता यसमा रहेको छ।

यो भण्डारण क्षमता करिब १ लाख ५० हजारभन्दा बढी मध्यम आकारका विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्री क्षमतासँग बराबर रहेको कम्पनीले जनाएको छ। साथै, यसले दिल्ली मेट्रोको अनुमानित दैनिक विद्युत् आवश्यकताको करिब दुई गुणासम्म ऊर्जा भण्डारण गर्न सक्ने दाबी गरिएको छ। 

ब्याट्री ऊर्जा भण्डारण प्रणालीले सौर्य तथा पवनजस्ता नवीकरणीय स्रोतबाट विद्युत् उत्पादन बढी भएका बेला ऊर्जा सञ्चित गरी माग बढेका बेला ग्रिडमा आपूर्ति गर्न सहयोग गर्छ। यसले विद्युत् ग्रिडको स्थिरता कायम राख्ने, उच्च माग व्यवस्थापन गर्ने र नवीकरणीय ऊर्जाको उत्पादन खेर जान नदिने काममा समेत सहयोग पुर्‍याउँछ।

खावडाको प्रणालीमा लिथियम–आयन ब्याट्री प्रविधि, ऊर्जा व्यवस्थापन प्रणाली र स्वचालित निगरानी प्रविधि प्रयोग गरिएको छ। यी प्रविधिले ब्याट्रीमा ऊर्जा भर्ने तथा निकाल्ने प्रक्रिया व्यवस्थापन गर्नुका साथै प्रणालीको कार्यसम्पादन निगरानी गर्न सहयोग गर्छन्। 

अडानी ग्रीन इनर्जीका कार्यकारी निर्देशक सागर अडानीले १४ महिनामै ६.६३ GWh सञ्चालनमा ल्याउनु भारतको स्वच्छ ऊर्जा रूपान्तरणका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनका अनुसार ठूलो स्तरको ऊर्जा भण्डारणले नवीकरणीय विद्युत्लाई थप भरपर्दो र आवश्यक परेको समयमा आपूर्ति गर्न सकिने बनाउनेछ।

कम्पनीले आगामी आर्थिक वर्ष २०२६/२७ मा थप १० GWh भन्दा बढी ब्याट्री भण्डारण क्षमता थप्ने लक्ष्य राखेको छ। साथै, आगामी पाँच वर्षमा कुल ऊर्जा भण्डारण क्षमता ५० GWh पुर्‍याउने लक्ष्य लिएको छ। ब्याट्री भण्डारणसँगै कम्पनीले पम्प्ड स्टोरेज परियोजनामा समेत काम गरिरहेको जनाएको छ। 

हाल अडानी ग्रीन इनर्जीसँग १२ राज्यमा गरी २०.७६ GW सञ्चालनमा रहेको नवीकरणीय ऊर्जा क्षमता र ६.६३ GWh ब्याट्री ऊर्जा भण्डारण क्षमता रहेको छ। कम्पनीले सन् २०३० सम्म आफ्नो नवीकरणीय ऊर्जा क्षमता ५० GW पुर्‍याउने लक्ष्य समेत राखेको छ। 

प्रतिक्रिया 0