११ वटा बैंकहरूको ५२ अर्ब ५५ करोड ऋण लगानी हुने
काठमाडौं । कालीकोटमा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ। आयोजनाको कुल अनुमानित लागत ७० अर्ब ७ करोड रुपैयाँ रहेकोमा बैंक तथा वित्तीय संस्थाहरूले ५२ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।
आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी रहनेछ। प्रवर्द्धकले करिब १७ अर्ब ५२ करोड रुपैयाँ स्वपुँजी लगानी गर्नेछन्।
ऋण लगानीमा एभरेष्ट बैंकको नेतृत्व रहेको छ। सानिमा बैंक सह–अगुवा बैंक तथा प्राइम कमर्सियल बैंक, एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन्। अन्य बैंक तथा वित्तीय संस्थासमेत गरी ११ संस्थाले आयोजनामा ऋण लगानी गर्नेछन्।
तिला–२ को बाँध तिलागुफा नगरपालिका र विद्युतगृह खाँडाचक्र नगरपालिकामा निर्माण गर्ने योजना छ। अर्धजलाशययुक्त आयोजनाले दैनिक करिब ६ घण्टा पिक समयमा विद्युत उत्पादन गर्न सक्नेछ।
आयोजनाबाट वार्षिक २,३१८.७९ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ। यसमध्ये सुख्खायाममा पिक समयमा ४५१.०५ गिगावाट घण्टा र अफ–पिक समयमा २०५.४५ गिगावाट घण्टा तथा वर्षायाममा १,६६२.२९ गिगावाट घण्टा उत्पादन हुने अनुमान छ।
आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग २९६.७४ मेगावाट क्षमताका लागि विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गरिसकेको छ। आयोजनाको जडित क्षमता भने ४२० मेगावाट छ।
आयोजना चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ठूलो ऋण लगानी भएकाले निर्माण लागत वृद्धि, समयमै आयोजना सम्पन्न हुने अवस्था, जलप्रवाह, प्रसारण लाइन, ब्याजदर तथा विद्युत बिक्रीबाट हुने आम्दानी आयोजनाको वित्तीय सफलताका प्रमुख आधार हुनेछन्।
आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत सेयर छुट्याउने व्यवस्था रहेको छ। तिला–२ सञ्चालनमा आएमा कर्णालीको ऊर्जा उत्पादन र पूर्वाधार विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 0