काठमाडौं । जलवायु परिवर्तनका कारण बाढी, आँधी, अत्यधिक गर्मी, खडेरी तथा अन्य विपद्को जोखिम बढ्दै जाँदा अस्पताल र स्वास्थ्य पूर्वाधारलाई जलवायु उत्थानशील तथा न्यून–कार्बन बनाउनु आवश्यक बन्दै गएको छ। एसियाली विकास बैंक (एडीबी) का अनुसार जलवायुजन्य विपद्ले अस्पतालको भौतिक संरचना, उपकरण, विद्युत् तथा पानीको आपूर्तिमा असर पुर्याउनुका साथै विपद्का समयमा बिरामीको चाप बढाएर स्वास्थ्य प्रणालीमाथि थप दबाब सिर्जना गर्छ। दक्षिणपूर्वी एसिया विशेषगरी जलवायु जोखिममा रहेको क्षेत्र भएकाले स्वास्थ्य संस्थाको तयारीलाई अझ प्राथमिकता दिनुपर्ने एडीबीले जनाएको छ।
एडीबीका अनुसार स्वास्थ्य क्षेत्र स्वयं पनि विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको करिब ५ प्रतिशतसम्म हिस्सा ओगट्छ। त्यसैले अस्पतालमा जलवायु अनुकूलन र कार्बन उत्सर्जन न्यूनीकरणलाई छुट्टाछुट्टै विषयका रूपमा नभई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ। जस्तै ऊर्जा–दक्ष वातानुकूलन प्रणालीले अत्यधिक गर्मीमा अस्पतालभित्रको तापक्रम व्यवस्थापन गर्नुका साथै ऊर्जा खपत घटाउन सक्छ। त्यस्तै सौर्य ऊर्जा र ब्याट्री प्रणालीले विद्युत् आपूर्तिलाई थप भरपर्दो बनाउँदै उत्सर्जन घटाउन, दक्ष पानी प्रणालीले खडेरीको जोखिम घटाउँदै पानी पम्पिङमा लाग्ने ऊर्जा कम गर्न तथा हरित भवन डिजाइनले गर्मीको प्रभाव र शीतलनका लागि आवश्यक ऊर्जा घटाउन सहयोग गर्न सक्छ।
यसका लागि क्षेत्रीय सहकार्य र एकअर्काबाट सिकाइलाई एडीबीले महत्वपूर्ण माध्यम मानेको छ। साझा मूल्यांकन विधि, तुलनायोग्य आधाररेखा, संयुक्त प्राविधिक सहयोग, नमुना अस्पताल निर्माण, क्षेत्रीय लगानी योजना, नीतिगत समन्वय तथा स्वास्थ्य संस्थाबीच अनुभव आदानप्रदानमार्फत प्रभावकारी समाधानलाई छिटो विस्तार गर्न सकिने एडीबीको भनाइ छ। बिम्स्टेक होइन, ब्रुनाइ, इन्डोनेसिया, मलेसिया र फिलिपिन्स सम्मिलित BIMP-EAGA क्षेत्रमा जलवायु उत्थानशील र न्यून–कार्बन स्वास्थ्य प्रणाली विकासका लागि यस्तो सहकार्य अघि बढाइएको छ।
एडीबीको पहलअन्तर्गत इन्डोनेसियाको पश्चिम कालीमन्तान, मलेसियाको सारावाक र फिलिपिन्सको जाम्बोआंगा सिटीमा जलवायु उत्थानशील तथा न्यून–कार्बन स्वास्थ्य सेवाका उपाय परीक्षण भइरहेका छन्। प्रारम्भिक मूल्यांकनमा बाढी, अत्यधिक गर्मी र धुवाँजस्ता जोखिमसँगै विद्युत् तथा स्वच्छ पानीको २४ घण्टे पहुँचको अभाव, कमजोर निकास प्रणाली र स्वास्थ्यकर्मीको कमी जस्ता चुनौती पहिचान भएका छन्। समान जोखिम मूल्यांकन विधि प्रयोग गरिएकाले विभिन्न देशका अस्पतालका चुनौती तुलना गरी स्थानीय आवश्यकता सुहाउँदो समाधान विकास गर्न सहज भएको एडीबीले जनाएको छ।
यसअघि फिजीमा २०० भन्दा बढी स्वास्थ्य संस्थाको जलवायु जोखिम तथा जोखिमग्रस्तता मूल्यांकन गरिएको थियो। त्यसपछि पाँच स्वास्थ्य संस्थालाई सुदृढ बनाइएको, १८ संस्थामा सौर्य ऊर्जा जडान गरिएको र ६०० भन्दा बढी स्वास्थ्यकर्मीलाई जलवायुजन्य स्वास्थ्य जोखिम व्यवस्थापनसम्बन्धी तालिम दिइएको एडीबीले उल्लेख गरेको छ। यस्तै, थाइल्यान्डमा पाँच सार्वजनिक अस्पताललाई जलवायु–स्मार्ट स्वास्थ्य सेवाको अवधारणाअनुसार स्तरोन्नति गर्ने परियोजना अघि बढाइएको छ।
जलवायु उत्थानशील अस्पताल निर्माण केवल भवन बलियो बनाउने विषय होइन, स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने सुनिश्चितता र कार्बन उत्सर्जन घटाउने रणनीति पनि हो। हरित पुनर्निर्माण, स्मार्ट भवन स्वचालन, नवीकरणीय ऊर्जा, पानी तथा ताप पुनःप्रयोग प्रणाली, जलवायु–सम्बन्धी तालिम र दिगो खरिद प्रणालीजस्ता उपायमार्फत अस्पताललाई भविष्यका जलवायु जोखिमका लागि तयार गर्न सकिन्छ। क्षेत्रीय अनुभव र ज्ञान साझा गर्दा यस्ता समाधानलाई एक देश वा एउटा अस्पतालमा सीमित नराखी अन्य स्वास्थ्य प्रणालीमा पनि विस्तार गर्न सकिने एडीबीको निष्कर्ष छ।
प्रतिक्रिया 0