हिमालको भविष्यबारे ललितपुरमा अन्तर्राष्ट्रिय सम्मेलन

बुधबार, ९ मंसिर २०८३, बेलुका ५:०३


काठमाडौं । हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका हिमनदी, हिउँ तथा जलवायु परिवर्तनका असरबारे छलफल गर्न ललितपुरमा आजदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आयोजनामा मंसिर ९ देखि ११ गतेसम्म खुमलटारस्थित इसिमोडको कार्यालयमा सम्मेलन हुन लागेको हो।

‘एचकेएच क्रायोस्फियरका लागि विज्ञान, नीति तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ नाम दिइएको कार्यक्रममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक, नीतिनिर्माता, सरकारी निकायका प्रतिनिधि, विकास साझेदार तथा विज्ञहरूको सहभागिता रहनेछ।

सम्मेलनमा हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिउँ तथा हिमनदी पग्लिने क्रम, हिमताल विस्फोटजन्य बाढी (ग्लोफ), हिमपहिरो, पानीका स्रोतमा पर्ने प्रभाव र हिमाली समुदायको जीविकोपार्जनमा देखिएका चुनौतीबारे छलफल हुनेछ। साथै हिमनदीको अवस्था तथा परिवर्तनको वैज्ञानिक अध्ययन, जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली र क्षेत्रीय सहकार्यका विषयलाई प्राथमिकता दिइनेछ।

इसिमोडका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा विश्वकै ध्रुवीय क्षेत्रबाहिरको सबैभन्दा ठूलो हिमभण्डार रहेको छ। यस क्षेत्रका हिमनदी, हिउँ र पर्माफ्रोस्टमा भइरहेको परिवर्तनले पानीको उपलब्धता, ऊर्जा सुरक्षा, पूर्वाधार, जैविक विविधता र मानव जीवनमा समेत असर पारिरहेको छ। यस क्षेत्रबाट बग्ने नदी प्रणालीमा निर्भर करिब दुई अर्ब मानिसका लागि पनि हिमनदीमा भइरहेको परिवर्तन महत्वपूर्ण चुनौतीका रूपमा देखिएको छ।

सम्मेलनमा हिमनदीको अनुगमन, तथ्यांक आदानप्रदान, जलवायु अनुकूलन योजना, पूर्वसूचना प्रणाली तथा विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक नीतिगत र संस्थागत सहकार्यबारे छलफल हुनेछ। वैज्ञानिक अनुसन्धानबाट प्राप्त तथ्यलाई नीति निर्माण र व्यावहारिक कार्यान्वयनमा जोड्ने विषयमा समेत विशेष ध्यान दिइनेछ।

सम्मेलन इसिमोडको क्रायोस्फियर कार्यक्रमअन्तर्गत आयोजना गरिएको हो। यसलाई स्विस पोलार इन्स्टिच्युट, क्रायोस्फियर फाउन्डेसन, पोलार रिसर्च इन्स्टिच्युट तथा खलिफा विश्वविद्यालयलगायत संस्थासँगको सहकार्यमा अघि बढाइएको छ। सम्मेलनलाई स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसनले सहयोग गरेको छ।

सम्मेलन संयुक्त राष्ट्रसंघको क्रायोस्फेरिक विज्ञानसम्बन्धी कार्य दशक (२०२५–२०३४) सँग पनि सम्बन्धित रहेको छ। सम्मेलनले हिन्दुकुश हिमालय क्षेत्रमा हिमनदी तथा हिउँमा भइरहेको परिवर्तनको वैज्ञानिक अध्ययन, नीतिगत प्राथमिकता र क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया 0