सेयर बजारमा हरियाली कायमै, ६ अर्ब १४ करोडको कारोबार

बुधबार, ९ मंसिर २०८३, दिउँसो ३:३८


काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार पनि सेयर बजारमा हरियाली कायम रहेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो कारोबार दिन बढेर बन्द भएको छ। यस दिन नेप्सेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ।

बुधबार नेप्से परिसूचक ८.७० अंकले बढेर २ हजार ६४७.६५ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेको थियो। यस दिन सेन्सेटिभ इण्डेक्स २.०७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंकले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा पनि बजारमा सुधार देखिएको छ। मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार ६ अर्ब १४ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यस दिन ३५६ वटा स्टकको ५२ हजार ६६९ पटकको कारोबारमा १ करोड ६५ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।

यस दिन मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य सर्वाधिक १०.९८ प्रतिशतले बढेको छ। त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी र कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब ६ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा हिमालयन ऊर्जा विकास कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३४ करोड ७४ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, कुमारी बैंकको २२ करोड रुपैयाँभन्दा बढी र ग्लोबल आइएमई बैंकको करिब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

उपसमूहतर्फ १३ मध्ये १० वटा उपसमूहको परिसूचक बढेको छ भने ३ वटा उपसमूह घटेका छन्। बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूह बढेका छन्। होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूह भने घटेका छन्।

प्रतिक्रिया 0