बेन्चमार्क ईन्डेक्सदेखि कर पुनरावलोकनसम्म
अर्थ मन्त्रालयले पूँजी बजारको सुधार, सुदृढीकरण तथा पुनर्स्थापनाका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। कार्ययोजनामा आईपीओ, नेप्से, संस्थागत लगानी, ऋणपत्र बजार, कर, मार्जिन कारोबारदेखि बैंक तथा वित्तीय संस्थाको शेयर लगानीसम्मका विषय समेटिएका छन्।
२१ बुँदा यसप्रकार छन् :
१. आईपीओसम्बन्धी नयाँ व्यवस्था
नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) का लागि सामान्य योग्यता सम्बन्धी निर्देशिका तत्काल जारी गर्ने। जलविद्युत्, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, कृषि र औषधि उद्योगका लागि विशिष्ट योग्यता, मूल्य अन्वेषण (Price Discovery) प्रणाली र धितोपत्र बास्केट प्रणालीलगायतका नीतिगत तथा कानुनी सुधार गरी २०८३ पुस मसान्तभित्र लागू गर्ने।
२. ऋणपत्र, मुद्रा बजार र इक्विटी उपकरणको विकास
ऋणपत्र बजार, मुद्रा बजार तथा इक्विटी जस्ता उपकरणको विकासका लागि म्युचुअल फन्डलाई व्यावसायिक, विविधीकृत, पारदर्शी, जोखिम सचेत, प्रविधिमैत्री तथा दीर्घकालीन लगानीको आधारस्तम्भ बनाउने नीति तत्काल सार्वजनिक गर्ने र २०८३ मंसिर मसान्तभित्र निर्देशिका तथा आवश्यक पूर्वाधारको व्यवस्था गर्ने।
३. धितोपत्र दलाल व्यवसायमा संरचनागत सुधार
धितोपत्र दलाल व्यवसायको संरचनागत सुधार तथा सुदृढीकरण नीति तत्काल सार्वजनिक गरी दलाल व्यवसायलाई अन्तर्राष्ट्रिय अभ्यास तथा मापदण्डअनुसार आधुनिक, व्यावसायिक, सुदृढ, प्रविधिमैत्री तथा बहुआयामिक धितोपत्र वित्तीय सेवा प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने।
४. धितोपत्रसम्बन्धी कानुन संशोधन
धितोपत्रसम्बन्धी ऐन, २०६३ मा समसामयिक सुधार गर्न नियामकीय तथा बजार पूर्वाधारसम्बन्धी छुट्टाछुट्टै विषयको मस्यौदा तयार गर्ने। यसमा मार्जिन लेन्डिङ, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी तथा उधारो र सर्ट सेलिङ लगायतका उपकरण सञ्चालनको व्यवस्था मिलाउने।
५. नेप्सेको पुनर्संरचना
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको संस्थागत सुदृढीकरण, संरचनात्मक सुधार तथा क्षमता अभिवृद्धिका लागि नेपाल सरकारबाट गठित कार्यदलले २०८२ पुस २५ गते पेश गरेको प्रतिवेदनअनुसार नेप्सेको पुनर्संरचना कार्य तत्काल अघि बढाउने।
६. नयाँ बेन्चमार्क इन्डेक्स ल्याउने
नेप्से सूचकाङ्कलाई All Equity Index का रूपमा कायम राख्दै कारोबारयोग्य शेयर, बजार पुँजीकरण, कम्पनीको वित्तीय अवस्था, कारोबारको तरलता, संस्थागत सुशासन तथा सूचना प्रवाहको स्थितिलगायतका सूचकका आधारमा धितोपत्र बजारको नयाँ आधारभूत सूचकाङ्क (Benchmark Index) २०८३ मंसिर मसान्तभित्र प्रयोगमा ल्याउने।
७. गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश
गैरआवासीय नेपाली (NRN) लाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ मा गर्नुपर्ने संशोधन प्रस्ताव २०८३ असोज मसान्तभित्र मन्त्रिपरिषद्मा पेश गर्ने।
८. कर्पोरेट बन्ड बजार विस्तार
संस्थागत ऋणपत्र बजार (Corporate Bond Market) विकास गर्दै बैंकमा आधारित वित्तपोषणबाट बजारमा आधारित वित्तपोषणलाई प्रवर्द्धन गर्ने। बोर्डले सार्वजनिक गरेको ऋणपत्रसम्बन्धी नियमावलीमा आवश्यक परिमार्जन गरी २०८३ असोज मसान्तभित्र कार्यान्वयनमा ल्याउने।
९. विशिष्टीकृत ऋणपत्र जारी गर्न प्रोत्साहन
हरित ऋणपत्र, विपद् ऋणपत्र, सामाजिक ऋणपत्र, परियोजना विशेष ऋणपत्र, वातावरणीय ऋणपत्रजस्ता विशिष्टीकृत ऋणपत्र जारी गर्न प्रोत्साहन गर्ने तथा त्यस्तो रकमको लगानी र सोको जानकारीसम्बन्धी विषय समेटी २०८३ असोज मसान्तभित्र नीति तर्जुमा गर्ने।
१०. ट्रेजरी बिल तथा विकास ऋणपत्रको दोस्रो बजार
ट्रेजरी बिल तथा विकास ऋणपत्रको सक्रिय दोस्रो बजार सुनिश्चित गर्न कारोबार शुल्कमा पुनरावलोकन गरी २०८३ असोज मसान्तभित्र बोर्डले नीतिगत एवं बजार पूर्वाधार तयार गर्ने।
११. शेयर स्प्लिट र बाइब्याकलाई व्यवस्थित गर्ने
नेप्सेमा सूचीकृत संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा रहेको व्यवस्थाअनुसार कम्पनीको सबै वा केही शेयर पुँजीलाई अंकित मूल्यभन्दा बढी वा घटी मूल्यको शेयरमा एकीकृत वा विभाजन (Share Split) गर्ने तथा कम्पनीले लाभांशका रूपमा वितरण हुन सक्ने सञ्चित मुनाफाबाट आफ्नै शेयर खरिद (Buy Back) गर्न सक्ने व्यवस्थालाई व्यावहारिक तथा कार्यान्वयनयोग्य बनाउने। यसका लागि २०८३ माघ मसान्तभित्र नियामकीय एवं नीतिगत पूर्वाधार तयार गर्ने।
१२. धितोपत्र तथा मार्जिन कारोबारसम्बन्धी नियम कार्यान्वयन
ऋणपत्र नियमावली, मार्जिन ऋण कारोबार नियमावली, अन्तरदिवसीय कारोबार नियमावलीलगायतका नियम तथा निर्देशिकालाई २०८३ असोज मसान्तभित्र नेपाल सरकार तथा अर्थ मन्त्रालयबाट स्वीकृत गरी कार्यान्वयन व्यवस्था मिलाउने।
१३. शेयर खरिद प्रणालीलाई आधुनिक बनाउने
शेयर खरिद प्रणालीलाई आधुनिक, व्यवस्थित एवं रूपान्तरण गर्दै बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन ऋण कारोबार नियमावलीअनुसार ऋण लिई लगानी गर्न सक्ने व्यवस्था २०८३ पुस मसान्तभित्र सञ्चालनमा ल्याउने।
१४. धितोपत्रसम्बन्धी कसुरको अनुसन्धान र निजी कम्पनीको ऋणपत्र
धितोपत्रसम्बन्धी कसुरको जाँचबुझ तथा अनुसन्धान कार्य नेपाल धितोपत्र बोर्डबाट हुने र प्राइभेट कम्पनीले समेत ऋणपत्र जारी गर्न सक्ने लगायतका व्यवस्था समावेश गरी धितोपत्रसम्बन्धी ऐन, २०६३ संशोधनको कार्य अघि बढाउने।
१५. संस्थागत लगानीकर्ताको प्रवेश सहज बनाउने
धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा संस्थागत लगानीकर्ताको प्रवेश सुनिश्चित गर्न २०८३ असोज मसान्तभित्र संस्थागत लगानी नीति, कारोबार संरचना तथा पूर्वाधारसम्बन्धी आवश्यक कानुनी एवं नीतिगत सुधार गर्ने। साथै प्राथमिक बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउन नीति, नियम तथा निर्देशिकामार्फत सहजीकरण गर्ने।
१६. संस्थागत लगानीकर्ताको पोर्टफोलियो पुनःसन्तुलन
बैंक निक्षेपमा अधिकेन्द्रित संस्थागत लगानीकर्ताको पोर्टफोलियोलाई पुनःसन्तुलित (Rebalancing) बनाउन कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी, म्युचुअल फन्डलगायत संस्थागत लगानीकर्तालाई धितोपत्रमा लगानी गर्न २०८३ मंसिर मसान्तभित्र कानुनी, नीतिगत तथा संरचनागत सहजीकरण गर्ने।
१७. सीडीएस एन्ड क्लियरिङको क्षमता अभिवृद्धि
धितोपत्र बजारमा नयाँ धितोपत्र वित्तीय सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न केन्द्रीय निक्षेप सेवा प्रणाली सञ्चालन गरिरहेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडको संस्थागत क्षमता अभिवृद्धि गर्ने तथा संरचनात्मक सुधारसम्बन्धी अध्ययन २०८३ फागुन मसान्तभित्र सम्पन्न गर्ने।
१८. PE/VC क्षेत्रलाई सहज बनाउने
प्रारम्भिक चरणका उद्यम, नवप्रवर्तनमा आधारित व्यवसाय, उच्च वृद्धि सम्भावना भएका साना तथा मझौला उद्यम, प्रविधिमा केन्द्रित व्यवसाय तथा उच्च जोखिम र उच्च प्रतिफल दिन सक्ने परियोजनालाई आवश्यक पुँजी उपलब्ध गराउन निजी इक्विटी तथा भेन्चर क्यापिटललाई PE/VC क्षेत्रमा लागू हुने अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार उपयुक्त वर्गीकरण, जोखिममा आधारित नियामकीय ढाँचा, पुँजी परिचालन, लगानी, लाभांश, पुँजी फिर्ता तथा लगानीबाट बाहिरिने प्रक्रियालाई सहज, पारदर्शी र नियमनयोग्य बनाउने गरी २०८३ पुस मसान्तभित्र कानुनी तथा बजार पूर्वाधार तयार गर्ने।
१९. बैंक तथा वित्तीय संस्थाको पूँजी बजार लगानी पुनरावलोकन
बैंक तथा वित्तीय संस्थाको पूँजी बजारमा भएको लगानीलाई पूँजी परिचालन, प्रत्यक्ष तथा अप्रत्यक्ष जोखिम (Exposure), अन्तरसम्बद्धता र श्रृंखलाबद्ध प्रभाव, वित्तीय स्वार्थ, प्रणालीगत जोखिम, तरलता र प्रतिफललगायतका विषय तथा निक्षेपकर्ताको सुरक्षालाई ध्यानमा राखी लगानीसम्बन्धी विद्यमान सीमा, जोखिम भार, धितो पर्याप्तता लगायतका सम्पूर्ण व्यवस्थालाई बोर्ड र नेपाल राष्ट्र बैंकले संयुक्त रूपमा २०८३ कात्तिक मसान्तभित्र पुनरावलोकन गर्ने।
२०. दीर्घकालीन लगानीलाई करमार्फत प्रोत्साहन
धितोपत्र बजारमा गरिने दीर्घकालीन लगानीलाई प्रोत्साहित गरी लगानीमैत्री बनाउन विद्यमान कर व्यवस्थामा सुधार गर्ने।
(क) बोर्डमा सूचीकृत निकायको हितको निःसर्गबाट प्राप्त लाभमा धितोपत्र विनिमय बजारको कारोबार गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ५ प्रतिशत कायम गर्ने।
(ख) सूचीकृत धितोपत्रको निःसर्गबाट भएको नोक्सानी समायोजनसम्बन्धी व्यवस्थामा सुधार गरी वास्तविक नोक्सानी भएमा मात्र अन्तिम कर निर्धारण गर्ने व्यवस्था मिलाउने।
२१. बैंक तथा वित्तीय संस्थाको दोस्रो बजार लगानीमा सट्टेबाजी जोखिम घटाउने
बैंक तथा वित्तीय संस्थाले धितोपत्रको दोस्रो बजारमा लगानी गर्ने सम्बन्धमा सञ्चालक समितिले Speculative Risk न्यूनीकरण हुने गरी लगानीको आवधिक सीमा कम्तीमा ४५ दिन हुने गरी लगानी नीति निर्धारण गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले यथाशीघ्र मिलाउने।
प्रतिक्रिया 0