काठमाडौं– सेयर बजारका लगानीकर्ताले अब नियमित कारोबार समय कुर्नुपर्ने बाध्यता हटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन कारोबार प्रणाली (टीएमएस) मा नयाँ सुविधा लागू गरेसँगै नियमित कारोबार सुरु हुनुअघि वा सकिएपछि पनि सेयर खरिद तथा बिक्रीको अर्डर राख्न सकिने व्यवस्था भएको हो। यो सुबिधा बिहिवार बाट लागु भएको छ ।
यसअघि लगानीकर्ताले बजार खुलेपछि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको नियमित कारोबार अवधिमै सेयर खरिद–बिक्रीको अर्डर राख्नुपर्थ्यो। नयाँ व्यवस्थाले नियमित कारोबार समयमा व्यस्त रहने लगानीकर्तालाई बजार खुल्नुअघि नै आफ्नो खरिद वा बिक्रीको माग प्रणालीमा राख्ने सुविधा दिएको छ। यो सुबिधा बेलुका ५ बजेदेखि बिहान १० बजेसम्म हुनेछ ।
नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यभन्दा १५ प्रतिशतसम्म घटबढ हुने गरी अर्डर राख्न सक्नेछन्। तर बजार खुल्नुअघि हुने प्रि–ओपन सेसनमा भने अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको ३ प्रतिशतसम्मको सीमाभित्र रहेका अर्डर मात्र स्वतः नेप्सेको एक्सचेन्ज प्रणालीमा पठाइनेछन्।
३ प्रतिशतको सीमाभन्दा बाहिर राखिएका अर्डर भने सम्बन्धित मूल्य बजारमा नआएसम्म प्रणालीमा कायम रहनेछन्। पछिल्लो कारोबार मूल्य उक्त ३ प्रतिशतको सीमाभित्र आएपछि प्रणालीले त्यस्ता अर्डरलाई स्वतः नेप्सेको कारोबार प्रणालीमा पठाउनेछ र सामान्य अर्डरसरह म्याच हुने प्रक्रियामा जानेछ।
तर नयाँ सुविधा अन्तर्गत राखिने अर्डर लिमिट अर्डर मात्र हुनेछन्। अर्थात् लगानीकर्ताले आफूले चाहेको खरिद वा बिक्री मूल्य तोकेर अर्डर राख्नुपर्नेछ। बजारमा उपलब्ध मूल्यअनुसार स्वतः कारोबार हुने मार्केट अर्डर भने यस सुविधामा उपलब्ध हुने छैन।
त्यस्तै, यस्तो अर्डरको वैधता एक कारोबार दिनका लागि मात्र हुनेछ। अर्डर राख्दा खरिदकर्ताको ब्रोकर खातामा आवश्यक कोल्याटरल रकम तथा बिक्रीकर्ताको डिम्याट खातामा पर्याप्त सेयर उपलब्ध छ कि छैन भन्ने प्रणालीले जाँच गर्नेछ। आवश्यक रकम वा सेयर उपलब्ध नभएमा अर्डर अस्वीकृत हुनेछ।
लगानीकर्ताले टीएमएसको ‘अर्डर म्यानेजमेन्ट’ अन्तर्गत ‘आफ्टर मार्केट्स अर्डर’ बाट आफ्नो अर्डरको अवस्था हेर्न सक्नेछन्। नेप्सेको एक्सचेन्ज प्रणालीमा पठाइनुअघि पेन्डिङ अवस्थामा रहेको अर्डरमा मूल्य वा कित्ता संशोधन गर्न तथा रद्द गर्न सकिनेछ। तर एकपटक एक्सचेन्ज प्रणालीमा पठाइसकेपछि भने त्यसमा संशोधन वा रद्द गर्न सकिने छैन।
दिनभरको नियमित कारोबार समाप्त हुँदासम्म अर्डरअनुसार कारोबार हुन नसकेमा त्यस्तो अर्डर स्वतः रद्द हुनेछ। त्यसैले लगानीकर्ताले बजार खुलेपछि आफ्नो अर्डरको अन्तिम अवस्था टीएमएसको अर्डर बुकमार्फत जाँच गर्नुपर्नेछ।
नयाँ व्यवस्थाले विशेषगरी नियमित कारोबार समय ११ बजेदेखि ३ बजेसम्म बजारमा सक्रिय हुन नसक्ने लगानीकर्तालाई आफ्नो लगानी निर्णय अग्रिम रूपमा प्रणालीमा राख्ने सुविधा दिएको छ। यसले सेयर कारोबार प्रक्रियालाई थप लचिलो र डिजिटल बनाउन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ।
प्रतिक्रिया 0