नेपालको पूँजीबजार विकास मार्गचित्र २०८३ सार्वजनिक

मंगलबार, ३० असार २०८३, राति ११:१०
Font Size: 20px

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी दशकका लागि 'नेपालको पूँजीबजार विकास मार्गचित्र–२०८३' सार्वजनिक गरेको छ। मार्गचित्रले नेपालको पूँजी बजारलाई परम्परागत शेयर कारोबारमा सीमित नराखी उत्पादनशील लगानी, पूर्वाधार विकास, उद्यमशीलता तथा दिगो आर्थिक वृद्धिको प्रमुख वित्तीय आधारका रूपमा विकास गर्ने दीर्घकालीन रणनीति अघि सारेको छ। आर्थिक वर्ष २०८३/८४ लाई यस मार्गचित्र कार्यान्वयनको पहिलो वर्षका रूपमा लिइएको छ।

मार्गचित्रअनुसार गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको धितोपत्रको दोस्रो बजारमा लगानी गर्न सक्ने व्यवस्था गरिनेछ। यसले विदेशमा रहेका नेपालीको बचतलाई नेपालको पूँजी बजारमार्फत उत्पादनशील क्षेत्रमा परिचालन गर्ने लक्ष्य लिएको छ। साथै, विदेशी संस्थागत तथा पोर्टफोलियो लगानीलाई पनि वित्तीय स्थायित्व र राष्ट्रिय हितलाई ध्यानमा राखेर चरणबद्ध रूपमा आकर्षित गरिने नीति लिइएको छ।

सेबोनले पूँजी बजारमा नयाँ वित्तीय उपकरण विस्तारलाई विशेष प्राथमिकता दिएको छ। यसअन्तर्गत Corporate Bond, Municipal Bond, Green Bond, REIT, Exchange Traded Fund (ETF), Private Equity, Venture Capital, Commodity Exchange तथा Derivatives जस्ता आधुनिक वित्तीय साधन विकास गरिने उल्लेख छ। यस्ता उपकरणमार्फत बैंक ऋणमा अत्यधिक निर्भर अर्थतन्त्रलाई दीर्घकालीन पूँजीको वैकल्पिक स्रोत उपलब्ध गराउने लक्ष्य राखिएको छ।

त्यसैगरी, साना तथा मझौला उद्यम (SMEs)स्टार्टअप हरूका लागि छुट्टै पूँजी बजार विकास गर्ने, Venture Capital तथा Private Equity उद्योगलाई संस्थागत गर्ने तथा नवप्रवर्तनमुखी व्यवसायलाई पूँजी बजारमार्फत वित्तीय पहुँच उपलब्ध गराउने नीति लिइएको छ।

मार्गचित्रले Green Finance लाई पनि प्राथमिकतामा राखेको छ। जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा, दिगो पूर्वाधार तथा वातावरणमैत्री परियोजनामा लगानी बढाउन Green Bond र अन्य दिगोपनमा आधारित ऋणपत्र विकास तथा प्रवर्द्धन गरिने उल्लेख गरिएको छ।

नियामकीय सुधारतर्फ बोर्डले Artificial Intelligence (AI), Big Data, RegTech, SupTechCyber Security मा आधारित आधुनिक बजार निगरानी प्रणाली विकास गर्ने योजना अघि सारेको छ। वास्तविक समयमै (Real-Time) बजार अनुगमन गरी Insider Trading, Market Manipulation तथा अन्य अनियमित कारोबार पहिचान र नियन्त्रण गरिने नीति लिइएको छ।

यसैगरी, लगानीकर्ता संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै वित्तीय साक्षरता विस्तार, प्रभावकारी गुनासो व्यवस्थापन, पारदर्शी सूचना प्रणाली तथा भित्री कारोबार र बजार हेरफेरविरुद्ध शून्य सहनशीलता (Zero Tolerance) को नीति अवलम्बन गरिने उल्लेख गरिएको छ।

सेबोनका अनुसार मार्गचित्रको अन्तिम उद्देश्य नेपालको पूँजी बजारलाई दक्षिण एशियाकै विश्वसनीय, प्रविधिमैत्री, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको आधुनिक वित्तीय प्रणालीका रूपमा विकास गर्नु हो।


यो पनि पढ्नुहोस 

पूँजी बजार सुधारमा सेबोनका ८ प्राथमिकता सार्वजनिक

प्रतिक्रिया 0