काठमाडौं । नेपालको पूँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउँदै कारोबारको दायरा विस्तार गर्न नेपाल धितोपत्र बोर्डले नयाँ वित्तीय उपकरणको विकास तथा सञ्चालनसम्बन्धी समिति गठन गरेको छ। शेयर कारोबारमा मात्र सीमित नेपालको धितोपत्र बजारलाई विविध वित्तीय उपकरण कारोबार गर्न सक्ने बहुआयामिक बजारका रूपमा विकास गर्ने उद्देश्यले बोर्डले सात सदस्यीय समिति गठन गरेको हो।
बोर्डका कायममुकायम कार्यकारी निर्देशकको संयोजकत्वमा गठित समितिमा नेपाल राष्ट्र बैंकका निर्देशकस्तरका प्रतिनिधि, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रतिनिधि तथा मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिलगायत सदस्य रहेका छन्। समितिले नयाँ वित्तीय उपकरण सञ्चालनका लागि आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधारको अध्ययन गरी विकास र कार्यान्वयनका लागि आवश्यक काम गर्नेछ।
समितिलाई कर्पोरेट ऋणपत्र, सरकारी ऋणपत्र, नगर ऋणपत्र, हरित ऋणपत्र, पूर्वाधार ऋणपत्र, एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ), रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (आरईआईटी), इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ट्रस्ट (इन्भाइट) लगायतका वित्तीय उपकरणको विकास तथा सञ्चालनका लागि आवश्यक व्यवस्था पहिचान गर्ने जिम्मेवारी दिइएको छ। साथै, चरणबद्ध रूपमा कमोडिटी फ्युचर्स तथा मुद्रा कारोबारसम्बन्धी डेरिभेटिभ उपकरणसमेत विकास गर्ने विषयमा अध्ययन गरिनेछ।
बोर्डले सार्वजनिक गरेको नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३ मा बजारको गहिराइ तथा विविधीकरणलाई प्राथमिकता दिँदै कर्पोरेट ऋणपत्र बजार, हरित तथा नगर ऋणपत्र, ईटीएफ, आरईआईटी, इन्भाइट र डेरिभेटिभ बजारको चरणबद्ध विकास गर्ने लक्ष्य राखिएको छ। सोही मार्गचित्रलाई कार्यान्वयनमा लैजान समितिले नयाँ वित्तीय उपकरणको अवधारणा, कानुनी व्यवस्था, बजार संरचना तथा आवश्यक प्राविधिक तयारीसम्बन्धी काम अघि बढाएको बोर्डले जनाएको छ।
समितिको पहिलो बैठकसमेत बसेर नयाँ वित्तीय उपकरणको अवधारणा, कानुनी तथा बजार संरचना र सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीसम्बन्धी काम अघि बढाइएको छ। नयाँ उपकरणहरूको विकास तथा सञ्चालनबाट नेपालको पूँजी बजारमा लगानीका विकल्प विस्तार हुनुका साथै संस्थागत लगानीकर्ताको सहभागिता, बजारको तरलता र लगानी विविधीकरणमा सहयोग पुग्ने बोर्डको अपेक्षा छ। यसले नेपालको धितोपत्र बजारलाई परम्परागत शेयर कारोबारभन्दा माथि उठाउँदै आधुनिक तथा बहुआयामिक वित्तीय बजारका रूपमा विकास गर्न आधार तयार गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 0