सरोकारवाला पक्षहरूबाट राय-सुझाव माग
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक निष्काशन प्रणालीलाई थप निष्पक्ष, व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यले ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ। बोर्डले सरोकारवाला पक्षहरूबाट राय, सुझाव तथा प्रतिक्रिया लिन मस्यौदा सार्वजनिक गरेको हो। सुझाव सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र बोर्डको इमेलमार्फत पठाउन सकिनेछ।
प्रस्तावित निर्देशिकाले सर्वसाधारणमा धितोपत्र निष्काशन गर्न चाहने संगठित संस्था, पब्लिक संगठित संस्थामा रूपान्तरण भई सार्वजनिक निष्काशन गर्न चाहने संस्था तथा प्रचलित कानुनबमोजिम सार्वजनिक निष्काशन गर्न स्वीकृति प्राप्त अन्य संस्थालाई समेट्नेछ। निर्देशिकामा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न चाहने संस्थाका लागि सामान्य तथा वित्तीय योग्यता, संस्थागत सुशासन, संस्थापक शेयरधनी, सञ्चालक तथा व्यवस्थापनको योग्यता लगायतका मापदण्ड प्रस्ताव गरिएको छ।
त्यसैगरी, सूचना प्रवाह तथा विवरणपत्र, ड्यु डिलिजेन्स र पेशागत उत्तरदायित्व, सार्वजनिक निष्काशनबाट प्राप्त रकमको उपयोग तथा अनुगमन, निष्काशनपछिका दायित्व, अनुपालना तथा नियामकीय अनुगमनसम्बन्धी व्यवस्था पनि मस्यौदामा समेटिएको छ। कसुर, दण्ड तथा प्रशासनिक कारबाहीसम्बन्धी प्रावधानसमेत प्रस्ताव गरिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार विभिन्न उद्योगको प्रकृति र जोखिमलाई ध्यानमा राखी जोखिममा आधारित प्रारम्भिक सार्वजनिक निष्काशन योग्यता प्रणाली विकास गर्ने उद्देश्य पनि निर्देशिकाले राखेको छ। यसबाट सार्वजनिक निष्काशनका लागि योग्य, पारदर्शी तथा दिगो संस्थाको छनोट सुनिश्चित गर्दै लगानीकर्ताको हित संरक्षण गर्ने र पूँजी बजारमा सुशासन, वित्तीय अनुशासन तथा पारदर्शिता प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
यो मस्यौदा नेपाल सरकार, अर्थ मन्त्रालयले भदौ २९ गते सार्वजनिक गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को बुँदा नं. १ मा रहेको कार्यक्रम कार्यान्वयनको सुरुवातका रूपमा अघि बढाइएको बोर्डले जनाएको छ। निर्देशिका लागू भएपछि सार्वजनिक निष्काशन प्रक्रिया थप व्यवस्थित, पारदर्शी तथा समयसापेक्ष हुने र अन्तर्राष्ट्रिय अभ्यास तथा मापदण्डसँग अनुकूल हुँदै योग्य कम्पनीलाई पूँजी बजारमा प्रवेश गर्न प्रोत्साहन मिल्ने बोर्डको अपेक्षा छ।
प्रतिक्रिया 0