काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पूँजी बजारमा दीर्घकालीन संस्थागत लगानी बढाउने उद्देश्यसहित कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा नेपाल बीमा प्राधिकरणका प्रतिनिधिहरूसँग विशेष छलफल गरेको छ।
बोर्ड अध्यक्ष गोपाल भट्टका अनुसार ती संस्थाहरूसँग रहेको करिब २० खर्ब रुपैयाँ बराबरको कोषलाई पूँजी बजारमा परिचालन गर्ने सम्भावनाबारे प्रारम्भिक छलफल गरिएको हो। बोर्डले सरकारी तथा अर्ध–सरकारी संस्थाको दीर्घकालीन कोषलाई शेयर बजारमा लगानी गराएर बजारमा तरलता बढाउने, उतारचढाव कम गर्ने तथा बजारलाई थप स्थिर र चलायमान बनाउने लक्ष्य राखेको छ।
सेबोनले साउन १ देखि लागू गरेको १० वर्षे पूँजी बजार विकास मार्गचित्र अन्तर्गत संस्थागत तथा वैदेशिक लगानी आकर्षित गर्ने योजना अघि बढाएको जनाएको छ। आगामी हप्तादेखि विदेशी लगानीकर्तासँग पनि छलफल सुरु गरिने तयारी रहेको बोर्डले जनाएको छ।
बोर्डका अनुसार नीतिगत सुधार र मार्गचित्रप्रति लगानीकर्ताको विश्वास बढ्दै जाँदा बजारमा सकारात्मक संकेत देखिन थालेका छन्। आज शुक्रबार नेप्से परिसूचक ७९.७४ अंकले बढेर २,६७७.५४ विन्दुमा पुगेको थियो। बोर्डले २० खर्ब रुपैयाँ बराबरको संस्थागत कोष परिचालनको पहलले पूँजी बजारमा दीर्घकालीन तथा भरपर्दो लगानीको आधार बलियो बन्ने अपेक्षा गरेको छ।
प्रतिक्रिया 0