पुँजी बजार सुधारबारे धितोपत्र बोर्डको नीति संवाद

शुक्रबार, ५ भदौ २०८३, बेलुका ७:११
Font Size: 20px

नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधार तथा नयाँ वित्तीय उपकरणको विकासका विषयमा वित्त शास्त्रका प्राज्ञिक व्यक्तित्वहरूसँग नीति संवाद गरेको छ।

बोर्डको आयोजनामा विभिन्न विश्वविद्यालयमा वित्त शास्त्र विषय अध्यापन गराउने प्राध्यापक तथा विषय विज्ञहरूसँग पहिलोपटक नीति संवाद कार्यक्रम आयोजना गरिएको हो। बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुँजी बजारमा नयाँ वित्तीय उपकरण भित्र्याउने विषयमा विस्तृत छलफल भएको छ।

बोर्डले तयार गरेका विभिन्न Consultation Paper तथा Policy Paper माथि विषय विज्ञहरूको सुझाव तथा धारणा लिन आयोजित संवादमा मार्जिन ल्यान्डिङ, अन्तरदिवसीय कारोबार, धितोपत्र उधारो तथा सापटी (SLB) र शर्ट सेलिङ लगायतका उपकरणबारे छलफल गरिएको थियो।

कार्यक्रममा विज्ञहरूले पुँजी बजार विकासका लागि बोर्डले अघि सारेका कार्यक्रमलाई सकारात्मक र रूपान्तरणकारी भएको बताएका थिए। नयाँ उपकरणहरू प्राविधिक प्रकृतिका भएकाले तिनलाई Financial Innovation का रूपमा विकास गर्नुपर्ने तथा त्यससँग जोडिएका जोखिमबारे लगानीकर्ताको वित्तीय साक्षरता बढाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए।

त्यस्तै, नीति सार्वजनिक गर्नुअघि प्राज्ञिक क्षेत्रसँग गरिएको संवादले सिद्धान्त र व्यवहारबीच सामञ्जस्य कायम गर्दै नीतिको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने विज्ञहरूको धारणा थियो।

बोर्डले आगामी दिनमा पनि प्राज्ञिक क्षेत्रका विज्ञहरूसँग सहकार्यलाई निरन्तरता दिने जनाएको छ। बजार विकासका लागि निर्माण हुने भावी नीतिमा विज्ञहरूको सुझाव समेटेर दीर्घकालीन नीति तय गर्दा पुँजी बजारसम्बन्धी नीतिको प्रभावकारिता अझ बढ्ने बोर्डको विश्वास छ।

प्रतिक्रिया 0