काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.४३ अंकले घटेर २,५४५.४० विन्दुमा बन्द भएको छ। पछिल्ला चार कारोबार दिन लगातार बढेको बजारमा आज भने सामान्य करेक्सन देखिएको हो।
आज सेन्सेटिभ इन्डेक्स १.६१ अंक, फ्लोट इन्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले घटेको छ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। आज ३५२ कम्पनीका १ करोड ९ लाख ६५ हजार कित्ता शेयर ५० हजार ८०४ पटक कारोबार हुँदा कुल ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार कारोबार रकम करिब ३ अर्ब ८३ करोड रुपैयाँ थियो।
१३ वटै उपसमूहमा गिरावट
आज कारोबारमा आएका १३ वटै उपसमूहका सूचक घटेका छन्। सबैभन्दा धेरै गिरावट विकास बैंक उपसमूहमा देखिएको छ, जसको सूचक २.३७ प्रतिशतले घटेको छ।
त्यस्तै वित्त, होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूहका सूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।
आज अपर लोहोरे खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ३९ रुपैयाँ बढेर २९९ रुपैयाँ पुगेको छ।
त्यस्तै शुभम् पावरको शेयरमूल्य करिब ६.५ प्रतिशतले बढेको छ।
अर्कोतर्फ इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयरमूल्यमा करिब १५ प्रतिशतको गिरावट आएको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स आज शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै सेन्ट्रल फाइनान्सको १७ करोड रुपैयाँभन्दा बढी तथा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
समग्रमा, लगातार चार दिनको वृद्धिपछि आज नेप्सेमा नाफा बुक गर्ने दबाब देखिए पनि कारोबार रकम ४ अर्बभन्दा माथि पुग्नुले बजारमा कारोबार गतिविधि भने बलियो रहेको संकेत गरेको छ।
प्रतिक्रिया 0