७२ ब्रोकरको प्रणाली प्रभावित
काठमाडौं, असोज ५ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर कम्पनीहरूको सर्भर रहेको डेटा सेन्टरमा देखिएको गम्भीर प्राविधिक तथा साइबर सुरक्षा समस्याका कारण आज सोमबार (असोज ५, २०८३) को नियमित शेयर कारोबार स्थगित गरेको छ।
नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य (स्टक ब्रोकर) कम्पनीका सर्भर रहेको Data Hub Pvt. Ltd. को डेटा सेन्टरमा असोज ४ गते बिहानदेखि समस्या देखिएको थियो। समस्या समाधानका लागि प्रयास भइरहे पनि सोमबार बिहानसम्म पूर्ण रूपमा समाधान हुन नसकेपछि नियमित कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमै थप क्षति पुग्न सक्ने जोखिमलाई ध्यानमा राख्दै कारोबार स्थगन गरिएको हो।
आधिकारिक पत्रअनुसार Data Hub Pvt. Ltd. ले २१ सेप्टेम्बर २०२६ मा YCO Pvt. Ltd. लाई पठाएको सूचनामा आफ्नो पूर्वाधारमा र्यान्समवेयर आक्रमण भएको उल्लेख गरेको छ।
पत्रमा Data Hub ले उक्त आक्रमण २० सेप्टेम्बर बिहान करिब ५ः३० बजे भएको जनाएको छ। आक्रमण हुनुअघि करिब बिहान ४ः०० बजे लिइएको सम्पूर्ण पूर्वाधारको पछिल्लो ब्याकअप सुरक्षित गरी अलग राखिएको पनि पत्रमा उल्लेख छ।
आक्रमणका कारण TMS, CDSC सम्बन्धित प्रणाली, Payment gateway तथा अन्य interconnected services प्रभावित हुन सक्ने भन्दै प्रणालीहरू सावधानीस्वरूप आइसोलेट गरिएको YCO Pvt. Ltd. ले जनाएको छ।
घटनाको फरेन्सिक अनुसन्धान तथा सुरक्षा परीक्षण पूरा नभएसम्म कारोबार सञ्चालन गर्दा थप साइबर तथा डेटा सुरक्षाको जोखिम हुन सक्ने भन्दै आजको कारोबार रोकिएको हो। भोलिको कारोबार सञ्चालन हुनेनहुने विषय प्रणाली रिकभरी र सुरक्षा परीक्षणको अवस्थाका आधारमा तय हुने बताइएको छ।
प्रतिक्रिया 0