सेबोनद्वारा इन्ट्राडे ट्रेडिङको अवधारणापत्र सार्वजनिक

बिहीबार, ८ आश्विन २०८३, बेलुका ४:२२


काठमाडौं, ८ असोज। नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारमा अन्तरदिवसीय कारोबार कार्यान्वयन गर्ने सम्बन्धमा अवधारणापत्र सार्वजनिक गरेको छ। बजारमा तरलता बढाउने, मूल्य अन्वेषण प्रक्रियालाई प्रभावकारी बनाउने तथा आधुनिक पूँजी बजार पूर्वाधारको विकास गर्ने उद्देश्यले बोर्डले ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयन सम्बन्धी अवधारणापत्र, २०८३’ सार्वजनिक परामर्शका लागि अघि सारेको हो।

नेपाल सरकार, अर्थ मन्त्रालयले २०८३ भदौ २९ गते जारी गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ तथा बोर्डको चालु आर्थिक वर्षको नीतिमा मार्जिन ऋण कारोबार र अन्तरदिवसीय कारोबारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषय समेटिएको छ। सोहीअनुसार बोर्डले मार्जिन ऋण कारोबारसम्बन्धी नियमावलीको मस्यौदा तयार गरी सरोकारवालाबाट प्राप्त सुझाव समेटेर अन्तिम रूप दिने काम अघि बढाइरहेको जनाएको छ।

प्रस्तावित अवधारणापत्रले लगानीकर्ता संरक्षणलाई पहिलो प्राथमिकता दिँदै जोखिममा आधारित नियमन, चरणबद्ध कार्यान्वयन, प्रविधिमा आधारित वास्तविक समयको कारोबार तथा अनुगमन र पारदर्शी बजार सञ्चालनलाई मुख्य आधार बनाएको छ। प्रारम्भमा नियमित रूपमा कारोबार हुने, पर्याप्त तरलता भएका र बजार दुरुपयोगको जोखिम तुलनात्मक रूपमा कम भएका सीमित धितोपत्रलाई मात्र अन्तरदिवसीय कारोबारका लागि योग्य बनाउने प्रस्ताव गरिएको छ। परीक्षण चरणबाट प्राप्त अनुभव र जोखिम मूल्याङ्कनपछि कारोबारको दायरा विस्तार गर्ने अवधारणा छ।

नेपालको वर्तमान बजार संरचना, संस्थागत क्षमता तथा जोखिम व्यवस्थापनको अवस्थालाई ध्यानमा राख्दै अन्तरदिवसीय कारोबारलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ। प्रारम्भिक चरणमा ‘पहिले खरिद, पछि बिक्री’ प्रकृतिको कारोबारबाट सुरु गर्ने प्रस्ताव छ। अर्थात् लगानीकर्ताले कारोबार अवधिभित्र पहिले धितोपत्र खरिद गरी सोही दिन बिक्री गर्न सक्ने व्यवस्था प्रारम्भिक चरणमा लागू गर्ने अवधारणा हो।

त्यसपछि धितोपत्र सापटी तथा उधारो प्रणाली र आवृत छोटो बिक्री प्रणालीको पूर्वाधार पर्याप्त रूपमा विकास भएपछि मात्र ‘पहिले बिक्री, पछि खरिद’ प्रकृतिको कारोबार कार्यान्वयनमा ल्याउने प्रस्ताव गरिएको छ। यसले छोटो बिक्रीसम्बन्धी कारोबारलाई समेत क्रमिक रूपमा विस्तार गर्ने आधार तयार गर्ने बोर्डको अवधारणा छ।

अन्तरदिवसीय कारोबार तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउनुभन्दा पहिले आवश्यक कानुनी तथा नियामकीय व्यवस्था, योग्य धितोपत्रका मापदण्ड, योग्य लगानीकर्ताको व्यवस्था, धितोपत्र दलालको सञ्चालन कार्यविधि, जोखिमसम्बन्धी जानकारी, मार्जिन तथा जोखिम व्यवस्थापन प्रणाली, बजार निगरानी र प्रविधिगत पूर्वाधार तयार गर्नुपर्ने प्रस्ताव गरिएको छ। त्यसपछि परीक्षण, प्रयोगात्मक सञ्चालन तथा तयारी मूल्याङ्कनमार्फत चरणबद्ध रूपमा कारोबार कार्यान्वयन गर्ने अवधारणा अघि सारिएको छ।

अन्तरदिवसीय कारोबारसम्बन्धी अवधारणापत्र तयार गर्न बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एन्ड क्लियरिङ तथा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधि सम्मिलित समितिमा छलफल गरिएको थियो। धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि गठित उक्त समितिले आवश्यक अध्ययन तथा छलफलपछि अवधारणापत्र तयार गरेको बोर्डले जनाएको छ।

बोर्डले सार्वजनिक गरेको अवधारणापत्रमा अन्तरदिवसीय कारोबारको सम्भावित संरचना, योग्य धितोपत्र तथा लगानीकर्ता, जोखिम व्यवस्थापन, कारोबार तथा राफसाफ प्रणाली, बजार निगरानी र आवश्यक प्रविधिगत पूर्वाधारलगायतका विषय समेटिएका छन्। बोर्डले अवधारणापत्रमार्फत सम्बन्धित सरोकारवालाबाट राय, सुझाव तथा सुधारका क्षेत्र पहिचान गर्न सार्वजनिक परामर्श सुरु गरेको जनाएको छ।

प्रतिक्रिया 0