अवधिअनुसार लाभकर ३.७५ र ५ प्रतिशत
नेपाल सरकारले सूचीकृत धितोपत्रको कारोबारबाट प्राप्त लाभमा लाग्ने करको दर औपचारिक रूपमा कायम गरेको छ। अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा राखिएको धितोपत्रबाट प्राप्त लाभमा ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि राखिएको धितोपत्रबाट प्राप्त लाभमा ५ प्रतिशत कर लाग्ने व्यवस्था गरेको हो।
सूचनाअनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको हितको निसर्गबाट प्राप्त लाभमा उक्त करदर लागू हुनेछ। बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभमा ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिको हितबाट प्राप्त लाभमा ५ प्रतिशत कर कायम गरिएको छ।
सरकारले आयकर ऐन, २०५८ को सम्बन्धित व्यवस्था तथा आर्थिक ऐन, २०८३ ले दिएको अधिकार प्रयोग गर्दै यो व्यवस्था गरेको हो। यससँगै सेयर तथा अन्य सूचीकृत धितोपत्र बेच्दा लगानीकर्ताले धितोपत्र स्वामित्वमा राखेको अवधिअनुसार फरक दरमा लाभकर तिर्नुपर्ने व्यवस्था स्पष्ट भएको छ।
राजपत्रमा प्रकाशित सूचनाले लामो अवधिका लगानी र छोटो अवधिको कारोबारबीच करदरमा फरक कायम गरेको छ। धितोपत्र कारोबारबाट हुने लाभमा लागू हुने करसम्बन्धी व्यवस्था अब औपचारिक रूपमा राजपत्रमार्फत कार्यान्वयनमा आएको हो।
प्रतिक्रिया 0