बजार घटाइमा सेबोनको ध्यानाकर्षण, नेप्सेलाई दियो ५ बुँदे निर्देशन

सोमबार, १५ भदौ २०८३, राति ९:५३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राकृतिक विपद्बाट प्रभावित हुन सक्ने सूचीकृत कम्पनीहरूको विवरण तत्काल तयार गरी बोर्डलाई जानकारी गराउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ। विशेषगरी त्रिशूली तथा भोटेकोशी नदी प्रणाली आसपास सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजना, प्रसारण संरचना र अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको अवस्थालाई ध्यानमा राख्दै सेबोनले यस्तो निर्देशन दिएको हो। धितोपत्रसम्बन्धी ऐनको दफा ४८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै बोर्डले बजार पारदर्शिता तथा लगानीकर्ताको हित संरक्षणका लागि निर्देशन जारी गरेको जनाएको छ। 

१. प्रभावित सूचीकृत कम्पनीको विवरण तयार गर्नुपर्ने

सेबोनले प्राकृतिक विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सूचीकृत कम्पनीहरूको विस्तृत सूची तत्काल तयार गरी बोर्डलाई जानकारी गराउन नेप्सेलाई भनेको छ। यसले बाढी तथा अन्य प्राकृतिक विपद्को प्रभावमा परेका सूचीकृत कम्पनी पहिचान गरी तिनको अवस्थाबारे नियामकलाई जानकारी गराउने व्यवस्था गर्न खोजेको छ।

२. प्रभावित कम्पनीबाट विस्तृत विवरण लिनुपर्ने

प्रभावित कम्पनीहरूबाट उनीहरूको आयोजना, सम्पत्ति, उत्पादन, वित्तीय अवस्था तथा व्यवसायमा परेको प्रभावसम्बन्धी विवरण लिएर कम्पनीको आधिकारिक माध्यम तथा सूचना प्रणालीमार्फत सार्वजनिक गर्नुपर्ने सेबोनले जनाएको छ।

सार्वजनिक गरिने विवरणमा प्रभावित आयोजनाको नाम र स्थान, प्राकृतिक विपद्को मिति तथा प्रकृति, आयोजनामा भएको प्रारम्भिक भौतिक क्षति, विद्युत् उत्पादन बन्द वा प्रभावित भएको अवस्था र अनुमानित उत्पादन क्षमता प्रभावित भएको परिमाण समावेश गर्न भनिएको छ।

त्यसैगरी मानव संसाधनमा भएको क्षति, प्रसारण तथा वितरण पूर्वाधारमा परेको प्रभाव, बीमा भएको वा नभएको अवस्था, बीमा कम्पनीमा दाबी गरिएको वा नगरिएको विवरण, प्रारम्भिक वित्तीय प्रभाव, आयोजना पुनःसञ्चालन हुन सक्ने अनुमानित समय, बैंक ऋण तथा ऋण सेवा क्षमतामा पर्न सक्ने प्रभाव र कम्पनी व्यवस्थापनले लिएका तत्कालीन कदम समेत सार्वजनिक गर्नुपर्नेछ। 

३. धितोपत्र कारोबारमा विशेष निगरानी

सेबोनले प्रभावित कम्पनीहरूको धितोपत्र कारोबारमा विशेष निगरानी राखी निरन्तर अनुगमन गर्न पनि नेप्सेलाई निर्देशन दिएको छ। यसअन्तर्गत अस्वाभाविक मूल्य परिवर्तन, असामान्य कारोबार परिमाण तथा अस्वाभाविक खरिद–बिक्री आदेशमा निगरानी राख्नुपर्नेछ।

त्यस्तै, महत्वपूर्ण सूचना सार्वजनिक हुनुअघि भएको असामान्य कारोबार तथा बजारको निष्पक्षता र पारदर्शितामा असर पार्न सक्ने अन्य गतिविधिसमेत निगरानी गर्न सेबोनले भनेको छ। 

४. विपद्का बेला सूचना प्रवाह र कारोबारसम्बन्धी कार्यविधि बनाउनुपर्ने

सेबोनले प्राकृतिक विपद्, दुर्घटना, आगलागी, भूकम्प तथा अन्य असाधारण घटनाबाट सूचीकृत कम्पनीमा पर्न सक्ने अल्पकालीन तथा दीर्घकालीन असरलाई ध्यानमा राखेर सूचना प्रवाह, धितोपत्र कारोबार रोक्का तथा पुनःसञ्चालनसम्बन्धी कार्यविधि तयार गर्न निर्देशन दिएको छ।

यसबाट कुनै कम्पनीमा ठूलो प्राकृतिक विपद्को असर पर्दा त्यससम्बन्धी महत्वपूर्ण सूचना लगानीकर्तासम्म समयमै पुग्ने र कम्पनीको धितोपत्र कारोबारलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने आधार तयार हुने अपेक्षा गरिएको छ। 

५. प्रगति र असामान्य गतिविधिको विवरण नियमित दिनुपर्ने

अन्ततः सेबोनले माथि उल्लेखित विषयमा भएका कार्यप्रगति तथा बजारमा देखिएका असामान्य गतिविधिसम्बन्धी विवरण नियमित रूपमा बोर्डलाई उपलब्ध गराउन नेप्सेलाई निर्देशन दिएको छ।

यससँगै बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित सूचीकृत कम्पनीको अवस्था, त्यसको धितोपत्र कारोबारमा परेको प्रभाव र बजारमा देखिन सक्ने असामान्य गतिविधिबारे सेबोनले निरन्तर निगरानी गर्ने भएको छ। 

प्रतिक्रिया 0