६०० जनाको सम्पत्ति १० करोड डलरभन्दा माथि
हाम्रो बैंकिङ । अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एन्थ्रोपिकको सेयर बजार प्रवेश (आईपीओ) ले कम्पनीका हजारौँ कर्मचारीलाई रातारात कागजी रूपमा करोडपति बनाएको छ। कम्पनीका करिब ९६ प्रतिशत कर्मचारीको सेयर स्वामित्वको मूल्य १० लाख अमेरिकी डलरभन्दा माथि पुगेको अनुमान गरिएको छ।
निजी कम्पनीको सेयर कारोबार तथा मूल्याङ्कन गर्ने प्लेटफर्म Hill.com को अनुमानअनुसार एन्थ्रोपिकका करिब ५ हजार १०० कर्मचारीसँग १० लाख डलरभन्दा बढी मूल्यको सेयर रहेको छ। त्यस्तै, करिब २ हजार ८०० कर्मचारीको सेयर मूल्य १ करोड डलरभन्दा बढी पुगेको छ भने झण्डै ६०० कर्मचारीको सेयर स्वामित्वको मूल्य १० करोड डलरभन्दा माथि पुगेको छ।
नियामकीय विवरणअनुसार एन्थ्रोपिकमा गत सेप्टेम्बरसम्म करिब ५ हजार ३०० कर्मचारी कार्यरत थिए। सन् २०२१ मा स्थापना भएको कम्पनीले छोटो समयमै एआई बजारमा तीव्र विस्तार गर्दै ठूलो मूल्याङ्कन हासिल गरेको हो। सन् २०२४ को अन्त्यसम्म कम्पनीमा एक हजारभन्दा कम कर्मचारी थिए।
कम्पनीले कर्मचारीलाई तलबसँगै सेयर तथा स्टक अप्सन उपलब्ध गराउँदै आएको थियो। यही व्यवस्थाले कम्पनीको मूल्य बढ्दै जाँदा कर्मचारीको सम्पत्तिमा समेत ठूलो वृद्धि भएको हो। यसबाट एआई अनुसन्धानकर्ता र इन्जिनियर मात्रै नभई प्रशासनिक तथा सहयोगी भूमिकामा काम गर्ने कर्मचारीसमेत लाभान्वित भएका छन्।
एन्थ्रोपिकले प्रतिकित्ता ८३ अमेरिकी डलरका दरले आईपीओ जारी गरेको थियो। कारोबार सुरु हुँदा सेयर मूल्य १११.५० डलरसम्म पुगेको थियो भने पहिलो दिनको कारोबार ९७.१७ डलरमा बन्द भएको थियो। यसले आईपीओ मूल्यको तुलनामा पहिलो दिनमै सेयर मूल्य करिब १७ प्रतिशत बढाएको थियो। कम्पनीको बजार पुँजीकरण करिब १.७५ ट्रिलियन डलर पुगेको थियो। कम्पनीले आईपीओमार्फत करिब ८१ अर्ब डलर जुटाएको थियो।
प्रतिक्रिया 0