काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विश्व लगानीकर्ता सप्ताह २०२६ का अवसरमा असोज १९ गतेदेखि २५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ।
बोर्डले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार लगानीकर्ता शिक्षा, वित्तीय साक्षरता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा प्रशिक्षण, अन्तरक्रिया, वक्तृत्व प्रतियोगिता, प्यानल छलफल तथा अन्य कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रमअन्तर्गत असोज १९ गते विराटनगर, काठमाडौँ, सुर्खेत र पोखरालगायतका स्थानमा लगानीकर्ता सम्बन्धी कार्यक्रम सञ्चालन हुनेछन्। यसै दिन पोडकास्ट तथा मुख्य सन्देशसम्बन्धी कार्यक्रमसमेत राखिएको छ।
असोज २० गते लगानीकर्ता प्रशिक्षण तथा सचेतना कार्यक्रमसँगै पोखरामा प्यानल छलफल आयोजना गरिनेछ। त्यस्तै, असोज २१ गते ‘आफ्नो भविष्यमा लगानी गरौँ, आजै यसको संरक्षण गरौँ’ भन्ने सन्देशसहित अन्तर–क्याम्पस वक्तृत्व प्रतियोगिता आयोजना हुनेछ।
असोज २२ गते लगानीकर्ता प्रशिक्षण तथा सचेतना कार्यक्रम, अन्तर–क्याम्पस वक्तृत्व प्रतियोगिता तथा आर्थिक पत्रकारसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिने तालिकामा उल्लेख छ। सामाजिक सञ्जालको समयमा वित्तीय साक्षरता र लगानी निर्णयसम्बन्धी विषयलाई समेत कार्यक्रममा समेटिएको छ।
त्यसैगरी, असोज २३ गते विश्व लगानीकर्ता सप्ताह २०२६ का विषयवस्तुमा आधारित वक्तृत्व प्रतियोगिता तथा प्यानल छलफल आयोजना हुनेछ। साथै ‘आफ्नो भविष्यमा लगानी गरौँ, आजै यसको संरक्षण गरौँ’ विषयमा अन्तर–क्याम्पस वक्तृत्व प्रतियोगिता पनि सञ्चालन गरिनेछ।
असोज २४ गते विज्ञहरूको सहभागितामा छलफल तथा लगानीकर्ता प्रशिक्षण र सचेतना कार्यक्रम आयोजना गरिनेछ। सप्ताहको अन्तिम दिन असोज २५ गते सेबोनले लगानीकर्ता शिक्षा तथा प्रशिक्षणका लागि मोबाइल सिकाइ व्यवस्थापन प्रणाली (एलएमएस) शुभारम्भ गर्ने कार्यक्रम राखेको छ।
कार्यक्रममा सेबोनसँगै नेपाल स्टक एक्सचेन्ज, सिडिएस एन्ड क्लियरिङ, मर्चेन्ट बैंक, धितोपत्र दलाल व्यवसायी, इक्रा नेपाल, विभिन्न बैंक तथा अन्य सम्बन्धित संस्थाहरूको सहभागिता रहनेछ।
विश्व लगानीकर्ता सप्ताहमार्फत सर्वसाधारण लगानीकर्ता, विद्यार्थी, व्यवसायी, आर्थिक पत्रकार तथा अन्य सरोकारवालालाई पुँजी बजार, लगानी, वित्तीय साक्षरता र लगानीकर्ता संरक्षणसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्य राखिएको छ।
विश्व लगानीकर्ता सप्ताह २०२६ अक्टोबर ५ देखि ११ अर्थात् असोज १९ देखि २५ गतेसम्म मनाइँदैछ।
प्रतिक्रिया 0