सिटिजन्स सुपर ५० मा लगानीको अवसर

मंसिर २ देखि आवेदन खुल्ने

सोमबार, २३ कार्तिक २०८३, दिउँसो १:२८


काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सुपर ५०’ नामक सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को इकाई मंसिर २ गतेदेखि निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई निष्कासन गर्न लागेको हो। यस योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। निष्कासित कुल इकाईमध्ये १ करोड ५० लाख इकाई अर्थात् १५ प्रतिशत कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनलका लागि सुरक्षित गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गरिनेछ।

यस योजनामा लगानी गर्न इच्छुक सर्वसाधारणले न्यूनतम १०० इकाई अर्थात् १ हजार रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। अधिकतममा १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

इकाई निष्कासन छिटोमा मंसिर ७ गते बन्द हुनेछ। उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा मंसिर १६ गतेसम्म आवेदन दिन सकिनेछ। योजनामा कुल इकाईको न्यूनतम ५० प्रतिशत अर्थात् ५ करोड इकाई बिक्री हुनुपर्ने व्यवस्था छ। उक्त संख्यामा आवेदन नपरे योजना खारेज गरी आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिनेछ।

१० वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको मुख्य विशेषता सूचीकृत कम्पनीका ५० वा सोभन्दा कम कम्पनीको धितोपत्रमा केन्द्रित रहेर लगानी गर्नु हो। कोषले सेयर बजारका साथै ऋणपत्र, मुद्रा बजारका उपकरण तथा बैंक निक्षेपलगायतका क्षेत्रमा पनि लगानी गर्नेछ। लगानीको जोखिम र सम्भावित प्रतिफलबीच सन्तुलन कायम गर्दै इकाईधनीलाई प्रतिफल उपलब्ध गराउने यसको उद्देश्य रहेको छ।

यस योजनाको निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया 0