काठमाडौ । नेपाल धितोपत्र बोर्डले पूँजी बजारसम्बन्धी साक्षरता अभिवृद्धि तथा लगानीकर्ता सचेतना विस्तार गर्ने उद्देश्यले देशव्यापी रूपमा सञ्चालन गरेको ‘वर्ल्ड इन्भेस्टर विक २०२६’ सम्पन्न गरेको छ। अन्तर्राष्ट्रिय धितोपत्र नियामक संस्था (IOSCO) को आह्वानमा असोज १९ देखि २५ गतेसम्म ‘Invest in Your Future. Protect It Today’ अर्थात् ‘आफ्नो भविष्यमा लगानी गरौँ, आजै त्यसको सुरक्षा गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरिएको हो।
सचेतना अभियानमा मुख्यतः लगानीकर्ताको जोखिम सहन क्षमता, डिजिटल ठगीबाट बच्ने उपाय, लगानीसम्बन्धी आधारभूत ज्ञान तथा युवा लगानीकर्ताको भूमिकालाई प्राथमिकता दिइएको थियो। सप्ताहव्यापी अभियानअन्तर्गत प्रभातफेरी, वित्तीय साक्षरतासम्बन्धी छलफल, अन्तरकलेज प्रस्तुतीकरण तथा वक्तृत्वकला प्रतियोगिता, आर्थिक पत्रकारसँग अन्तरक्रिया र रेडियो परिसंवादलगायतका कार्यक्रम सञ्चालन गरिएका थिए।
सप्ताहको पहिलो दिन पोखरा, विराटनगर र वीरेन्द्रनगरमा एकैसाथ प्रभातफेरी आयोजना गरी अभियानको औपचारिक उद्घाटन गरिएको थियो। नेपाल धितोपत्र बोर्डका अनुसार उक्त कार्यक्रममा विद्यार्थी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, मर्चेन्ट बैंकर, धितोपत्र दलाल व्यवसायी र विभिन्न नियामक निकायका प्रतिनिधिसहित करिब १ हजार ३५० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा पूँजी बजार, लगानीको महत्व तथा लगानीकर्ताको अधिकार र हितसम्बन्धी सचेतना फैलाइएको थियो।
वित्तीय साक्षरता प्रवर्द्धनका लागि पोखरास्थित पृथ्वीनारायण क्याम्पसको सहकार्यमा प्यानल छलफल आयोजना गरिएको थियो। त्यस्तै, पोखरा र बुटवलमा अन्तरकलेज प्रस्तुतीकरण प्रतियोगिता तथा वीरगञ्जमा ‘सामाजिक सञ्जालको युगमा वित्तीय साक्षरता र लगानी निर्णय’ विषयक वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो। यी प्रतियोगितामा विद्यार्थी तथा युवालाई लगानीसम्बन्धी ज्ञान, जोखिमको पहिचान र सही वित्तीय निर्णयबारे आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो।
बोर्डले प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिम वा व्यक्तिलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको जनाएको छ। यसका अतिरिक्त सुदूरपश्चिम प्रदेशको धनगढीमा आर्थिक पत्रकारसँग पूँजी बजारका विभिन्न पक्षबारे अन्तरक्रिया गरिएको थियो। रेडियो नेपालमार्फत वित्तीय शिक्षा तथा लगानीकर्ता सचेतनामा केन्द्रित करिब ४५ मिनेटको परिसंवाद कार्यक्रम पनि प्रसारण गरिएको थियो।
अभियानलाई प्रभावकारी बनाउन नेपाल स्टक एक्सचेन्ज, सीडीएस एन्ड क्लियरिङ लिमिटेड, मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपाल, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, स्टक डिलर कम्पनी तथा क्रेडिट रेटिङ कम्पनीहरूले पनि विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए। विद्यालय तथा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम, पोडकास्ट, प्यानल छलफल र कार्यालय भ्रमणजस्ता गतिविधि आयोजना गरिएको बोर्डले जनाएको छ। साथै, लगानीको महत्व, धितोपत्रमा लगानी गर्दा ध्यान दिनुपर्ने विषय, लगानीकर्ताको अधिकार र पूँजी बजारमा हुने ठगीबाट बच्ने उपाय समेटिएको जानकारी पुस्तिकासमेत वितरण गरिएको थियो।
बोर्डका अनुसार यस्ता कार्यक्रमले सर्वसाधारण तथा विद्यार्थीलाई पूँजी बजारका गतिविधि र लगानीका अवसरबारे जानकारी दिनुका साथै जोखिम बुझेर लगानी निर्णय गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ। विशेषगरी सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना, लगानीसम्बन्धी अफवाह र डिजिटल ठगीबाट सचेत रहँदै आफ्नो आवश्यकता तथा जोखिम वहन क्षमताअनुसार लगानी गर्ने संस्कृतिको विकासमा अभियानले योगदान पुर्याउने बोर्डको विश्वास छ।
प्रतिक्रिया 0