नयाँ बजेटपछिको पहिलो कारोबार दिन नेप्से घटेर बन्द

Monday, 01 June 2026, 06:52 PM
5 पटक हेरियो
Font Size: 20px

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपछि खुलेको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। सोमबार नेप्से २६.७२ अंकले घटेर २,७५५.३७ विन्दुमा सीमित भएको हो ।

बजारसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन शुक्रबार ६ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा सोमबार ५ अर्ब ६१ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बजारमा ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

विश्लेषकहरूका अनुसार बजेटमार्फत सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाइएकाले लगानीकर्ताले नकारात्मक प्रतिक्रिया जनाएका हुन्। यसले बजारमा बिक्री दबाब बढाएको देखिएको छ।

सोमबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रियन्स्योरेन्स, रिडी पावर र नेसनल हाइड्रोपावर रहेका छन्।

क्षेत्रगत रूपमा अधिकांश उपसूचक घटेका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन तथा माइक्रोफाइनान्स समूहमा गिरावट देखिएको छ। व्यापार समूह सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेको छ ।

यद्यपि केही समूहमा भने सकारात्मक प्रभाव देखिएको छ। अन्य समूह ३.३६ प्रतिशत र निर्जीवन बीमा समूह १.३७ प्रतिशतले बढेका छन्। बजेटमार्फत नेपाल पुनर्बीमा कम्पनीलाई २० प्रतिशत पुनर्बीमा व्यवसाय सुनिश्चित गर्ने व्यवस्था गरिएपछि कम्पनीको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ, जसले समग्र निर्जीवन बीमा क्षेत्रलाई समेत टेवा दिएको छ ।

व्यक्तिगत कम्पनीतर्फ कालिन्चोक हाइड्रोको सेयर मूल्य १५ प्रतिशत र सेन्ट्रल फाइनान्सको ५.७६ प्रतिशतले बढेको छ। विपरीत रूपमा बुंगल हाइड्रोको सेयर मूल्य १३.२० प्रतिशत तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ६.९५ प्रतिशतले घटेको छ ।

नयाँ बजेटप्रति लगानीकर्ताको प्रारम्भिक प्रतिक्रिया नकारात्मक देखिए पनि आगामी दिनमा बजेटका व्यवस्थाको कार्यान्वयन, मौद्रिक नीति र समग्र आर्थिक गतिविधिले बजारको दिशा तय गर्ने विश्लेषकहरूको भनाइ छ।

4 घण्टा अगाडि
5 पटक हेरियो

प्रतिक्रिया 0