काठमाडौं। नेपाल धितोपत्र बोर्ड का अध्यक्ष डा. गोपाल भट्ट र विभिन्न लगानीकर्ता संघ–संस्थाका प्रतिनिधिबीच नेपालको पूँजीबजारको वर्तमान अवस्था, देखिएका चुनौती तथा सुधारका उपायबारे विस्तृत छलफल भएको छ।
पूँजीबजारका लगानीकर्ता संघका प्रतिनिधिहरूसँग भएको छलफलमा अध्यक्ष भट्टले लगानीकर्ताका जायज माग र सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै बजारलाई थप पारदर्शी, व्यवस्थित, विश्वसनीय र लगानीकर्तामैत्री बनाउन आवश्यक नीतिगत सुधार अघि बढाइने बताएका छन्।
छलफलका क्रममा बोर्डले पूँजीबजार सुधारका लागि भिजन पेपर तयार गरी कार्यान्वयन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ। यसले बजारलाई थप पारदर्शी र व्यवस्थित बनाउन दीर्घकालीन मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, नेगेटिभ नेटवर्थ भएका कम्पनीको आईपीओ तत्काल रोक्ने तथा बुक बिल्डिङ र प्रिमियम मूल्यमा निष्कासन हुने आईपीओको मापदण्ड र प्रक्रियाबारे गम्भीर अध्ययन भइरहेको अध्यक्ष भट्टले बताएका छन्।
लगानीकर्ताले सामान्य गुनासोका लागि बोर्डमै धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी प्रभावकारी गुनासो व्यवस्थापन प्रणाली विकास गरिने पनि उनको भनाइ छ। साथै, आगामी दिनमा बोर्डका नीति तथा निर्देशिका बनाउँदा लगानीकर्ता, बजारका सरोकारवाला र सम्बन्धित निकायसँग परामर्श गरेर मात्रै निर्णय लिने प्रतिबद्धता व्यक्त गरिएको छ।
बजारमा भ्रामक हल्ला फैलाउने, सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई भ्रमित पार्ने तथा प्राविधिक विश्लेषणको नाममा इन्साइडरको भूमिका खेल्ने गतिविधिमाथि नियमन कडा बनाइने बोर्डले जनाएको छ।
यस्तै, प्रि–आईपीओको नाममा हुने चलखेल तत्काल रोक्दै आवश्यक कारबाही अघि बढाइने, मार्केट मेकर, डिलर तथा म्युचुअल फन्डहरूले आफ्नो उद्देश्यअनुसार काम गरे–नगरेको निगरानी गरिने, साथै ब्रोकर लाइसेन्स खुला राख्ने नीतिलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको छ।
कर तथा शुल्क सम्बन्धी विषयमा पूँजीगत लाभकरलाई अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन लगानीका आधारमा पुनरावलोकन गर्न अर्थ मन्त्रालय सँग समन्वय गर्ने, डिम्याट डीपी शुल्क पुनरावलोकन गर्ने तथा कम्पनीहरूको शेयर संरचना (५१:४९ अनुपात) सम्बन्धमा अध्ययन गर्ने विषयमा समेत छलफल भएको बोर्डले जनाएको छ।
छलफलमा नेपाल शेयरधनी संघ, जनरल इन्भेस्टर्स एसोसिएशन, नेपाल शेयर बजार लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ का प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा सहभागीहरूले पूँजीबजारमा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न पारदर्शिता, प्रभावकारी नियमन तथा नीतिगत स्थिरतामा विशेष जोड दिएका थिए।
यो पनि पढ्नुहोस
सेयर बजार किन सुस्त ? सबै क्षेत्रमा नयाँ पूँजी र नीतिगत सुधारको प्रतीक्षा
प्रतिक्रिया 0