दैनिक कारोबार ३० अर्ब, ५०० कम्पनी सूचीकृत गर्ने सेबोनको लक्ष्य

बुधबार, ३१ असार २०८३, बिहान ९:१७
Font Size: 20px

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पुँजी बजारलाई आगामी १० वर्षभित्र देशको आर्थिक विकासको दोस्रो प्रमुख स्तम्भका रूपमा स्थापित गर्ने लक्ष्यसहित ‘पुँजी बजार विकास मार्गचित्र–२०८३’ सार्वजनिक गरेको छ।

मार्गचित्रले हाल बैंकिङ क्षेत्रमा केन्द्रित वित्तीय प्रणालीलाई सन्तुलित बनाउँदै पुँजी बजारको दायरा विस्तार गर्ने रणनीति अघि सारेको छ। बोर्डका अनुसार सन् २०३६ सम्म दैनिक औसत शेयर कारोबार रकम करिब ८ अर्ब रुपैयाँबाट ३० अर्ब रुपैयाँ पुर्‍याउने, ५०० भन्दा बढी कम्पनी सूचीकृत गर्ने तथा बजार पुँजीकरण–जीडीपी अनुपात १५० प्रतिशतभन्दा माथि पुर्‍याउने लक्ष्य राखिएको छ।

बोर्डले हालको बजारमा बैंक तथा वित्तीय संस्था र जलविद्युत् कम्पनीको अत्यधिक वर्चस्व, साधारण शेयरमा निर्भरता तथा उत्पादन, कृषि, सूचना प्रविधि, सेवा क्षेत्र र वैकल्पिक लगानी उपकरणहरूको न्यून उपस्थितिलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरेको छ।

यी चुनौती समाधान गर्न कानुनी सुधार, बजार विविधीकरण, डिजिटल प्रविधिको विस्तार, लगानीकर्ता संरक्षण र अन्तर्राष्ट्रिय अभ्यासअनुसारको नियामकीय प्रणालीसहित सात रणनीतिक स्तम्भ तय गरिएको छ।

मार्गचित्र तीन चरणमा कार्यान्वयन हुनेछ। पहिलो चरण (२०२६–२०२७) मा कानुनी तथा नीतिगत सुधार, दोस्रो चरण (२०२८–२०३०) मा बजार विस्तार र डिजिटल रूपान्तरण तथा अन्तिम चरण (२०३१–२०३६) मा विदेशी पोर्टफोलियो लगानी भित्र्याएर नेपाली पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखिएको छ।

प्रतिक्रिया 0