पूँजी बजारका लागि दीर्घकालीन खाका सार्वजनिक गर्ने अन्तिम तयारीमा सेबोन

सोमबार, २९ असार २०८३, बिहान १०:३८
Font Size: 20px

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पूँजी बजार सुधारलाई गति दिने उद्देश्यका साथ यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष डा. गोपाल भट्टले पूँजी बजारको दीर्घकालीन विकास, कार्यान्वयन रणनीति तथा आगामी आर्थिक वर्षको प्राथमिकता समेटिएको तीनवटा महत्त्वपूर्ण दस्ताबेज एकैपटक सार्वजनिक गर्न लागेका हुन्।

पहिलो दस्ताबेज पूँजी बजारको दीर्घकालीन ब्लुप्रिन्ट हुनेछ। यसमा आगामी चारदेखि पाँच वर्षका लागि नेपालको पूँजी बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने रणनीति समेटिनेछ।

दोस्रो दस्ताबेज समयबद्ध कार्ययोजना (रोडम्याप) हुनेछ। यसले ब्लुप्रिन्टमा उल्लेख गरिएका सुधार कार्यक्रमहरू कुन समयसीमाभित्र र कसरी कार्यान्वयन गर्ने भन्ने स्पष्ट योजना प्रस्तुत गर्नेछ।

तेस्रो दस्ताबेज आर्थिक वर्ष २०८३/८४ का लागि सेबोनको नीति तथा कार्यक्रम हुनेछ। यसमा आगामी वर्षका नियामकीय सुधार, बजार विकासका प्राथमिकता, लगानीकर्ता संरक्षण, नयाँ वित्तीय उपकरणको विकास तथा पूँजी बजारको दायरा विस्तार गर्ने कार्यक्रम समेटिने अपेक्षा गरिएको छ।

सेबोनले पछिल्लो समय धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धी नियमावली, संस्थागत सुशासन निर्देशिका तथा धितोपत्र ऐन संशोधनलगायतका विषयमा पनि काम अघि बढाइरहेको छ। 'थ्री-इन-वान' प्याकेजले ती सुधारलाई स्पष्ट दिशा दिने र पूँजी बजारको दीर्घकालीन विकासका लागि मार्गचित्र तय गर्ने विश्वास गरिएको छ।

बजारका सरोकारवालाले सेबोनको यो पहलले नियामकीय स्पष्टता, पूर्वानुमानयोग्यता तथा लगानीकर्ताको विश्वास अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरेका छन्।

प्रतिक्रिया 0