काठमाडौं । यो साताको सुरुआतमा गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले पछिल्ला दुई कारोबार दिनमा पुनः सुधारको संकेत देखाएको छ। सोमबार ३०.६० अंकले घटेको बजार मंगलबार ६.११ अंक र बुधबार १४.०० अंक (०.५४%) ले बढ्दै २,५९०.२९ विन्दुमा बन्द भएको हो।
बुधबारको वृद्धिसँगै यो साताको दुई कारोबार दिनमा नेप्से परिसूचक २०.११ अंकले उकालो लागेको छ। बजारमा बैंकिङ, जलविद्युत् तथा वित्त समूहमा खरिद चाप बढ्दा लगानीकर्ताको मनोबल पनि बलियो बन्दै गएको देखिएको छ।
नेप्सेको तथ्यांकअनुसार बुधबार ४ अर्ब १७ करोड ३ लाख ९८ हजार ४९ रुपैयाँ ६४ पैसा बराबरको कारोबार भएको छ। यस अवधिमा ८४ लाख ७३ हजार १६ कित्ता शेयर किनबेच भएका छन्।
बजारको समग्र अवस्था पनि सकारात्मक देखिएको छ। आज १९६ कम्पनीको शेयर मूल्य बढ्दा, ५९ कम्पनीको घटेको र १९ कम्पनीको मूल्य स्थिर रहेको छ। बढेका कम्पनीको संख्या उल्लेखनीय रूपमा बढी हुनु बजारमा खरिदकर्ताको सक्रियता बढेको संकेत मानिएको छ।
मौद्रिक नीतिपछि देखिएको अनिश्चितता क्रमशः कम हुँदै जानु, बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहनु तथा लगानीकर्ताको खरिद रुचि बढ्नुले बजारमा सुधारको संकेत देखिएको हो। तर, बजार अझै उतारचढावपूर्ण रहन सक्ने भएकाले कम्पनीको आधारभूत अवस्था, वित्तीय प्रतिवेदन र दीर्घकालीन सम्भावनाको अध्ययन गरेर मात्रै लगानी गर्नुपर्ने सुझाव उनीहरूको छ।
प्रतिक्रिया 0