विश्व लगानीकर्ता सप्ताह २०२६ सुरु

पोखरा, विराटनगर र सुर्खेतमा प्रभातफेरी

सोमबार, १९ आश्विन २०८३, बेलुका ५:३२


काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२६ (World Investor Week 2026) आजदेखि सुरु भएको छ। सप्ताहको पहिलो दिन नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (SBAN) को सहकार्यमा पोखरा, विराटनगर र सुर्खेतमा एकैसाथ प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।

पूँजी बजार, लगानीकर्ता अधिकार तथा हितका विषयमा सर्वसाधारणमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रभातफेरीमा तीनवटै शहरमा गरी करिब १ हजार ३५० जनाको सहभागिता रहेको थियो।

पोखरामा आयोजित प्रभातफेरीको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले गरेका थिए। कार्यक्रममा करिब ६०० जनाको सहभागिता रहेको थियो।

त्यस्तै, विराटनगरमा बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यको प्रमुख आतिथ्यमा प्रभातफेरी आयोजना गरिएको थियो। उक्त कार्यक्रममा करिब ३५० जना सहभागी भएका थिए। सुर्खेतमा बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियो, जहाँ करिब ४०० जनाको उपस्थिति रहेको थियो।

प्रभातफेरीमा नेपाल धितोपत्र बोर्डका कर्मचारी, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, लगानीकर्तालगायत पूँजी बजारसँग सम्बन्धित विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजना गरिएको कार्यक्रमले सर्वसाधारणमा पूँजी बजार तथा लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै लगानी गर्दा आवश्यक सूचना प्राप्त गर्ने, सम्भावित जोखिम पहिचान गर्ने र सचेत तथा जिम्मेवार लगानी गर्ने संस्कृतिको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आश्विन १९ देखि २५ गतेसम्म मनाइने विश्व लगानीकर्ता सप्ताहभर पूँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने बोर्डले जनाएको छ। सप्ताहका क्रममा विभिन्न स्थानमा पूँजी बजारसम्बन्धी प्रशिक्षण, वक्तृत्वकला प्रतियोगिता, प्रस्तुतीकरण प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिनेछन्।

प्रतिक्रिया 0