नयाँ सरकार गठनपछिका पछिल्ला ४० दिनलाई मात्र हेर्ने हो भने पनि नेप्से सूचक करिब २०० अंकले घटेको छ। सरकार गठन हुँदा नेप्से २९११ मा थियो भने बुधबार २७११ विन्दुमा बन्द भएको छ। निरन्तर गिरावटसँगै कारोबार रकम पनि घटेको छ, जसले बजारमा ‘बेयरिस’ दबाब परेको संकेत गर्छ। तर घटेको मूल्यमा पनि लगानीकर्तामा शेयर खरिद गर्ने रुचि देखिएको छैन। बजारको प्राण मानिने कारोबार रकममा आएको संकुचनले लगानीकर्तालाई थप चिन्तित बनाएको छ।
दैनिक १० अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार हुने बजारमा अहिले कारोबार रकम निकै घटेको छ। बुधबार मात्र ३ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भयो। परिसूचकसँगै कारोबार रकम घट्नुलाई विश्लेषकहरूले लगानीकर्ताको घट्दो आत्मविश्वास र ‘पर्ख र हेर’ रणनीतिका रूपमा लिएका छन्।
अहिलेको गिरावट बजारमा पैसा नभएर भन्दा पनि लगानीकर्तामा लगानी गर्ने रुचि र साहसको कमीका कारण हो। धेरै लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा छन् र केही लगानीकर्ता २६०० देखि २९०० विन्दुको बीचमा साइडवेज खेल्न अभ्यस्त भएका छन्, जसले बजारको लयलाई असर गरेको छ। यो अवस्थामा धैर्य गरेर शेयर किन्ने हो भने एक–दुई महिनामै राम्रो प्रतिफल पाउन सकिन्छ।
सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको चरणमा छ र लगानीकर्ताहरू बजेटको दिशा पर्खिरहेका छन्। यद्यपि, नेप्से सूचकले सधैं बजेटलाई मात्र पर्खँदैन। केही दिनभित्रै बजारले सकारात्मक लय समात्ने अपेक्षा गरिएको छ।
बजार सूचकलाई दीर्घकालीन रूपमा असर पार्ने नकारात्मक आधारभूत कारणहरू देखिँदैनन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ र निक्षेपको ब्याजदर न्यून विन्दुमा झरेको छ। बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा औसत ३ देखि ४.५ प्रतिशतसम्म ब्याज दिएका छन् भने कर्जाको ब्याजदर पनि सस्तो भएको छ। तर, यति सहज अवस्थाका बाबजुद पनि ऋणको माग अपेक्षित रूपमा बढ्न सकेको छैन।
नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निरन्तर निक्षेप संकलन र बन्ड जारी गरिरहेको छ। तर, उपलब्ध पूँजीलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकिएको आरोप लाग्ने गरेको छ।
बजार सुस्त हुनुमा आन्तरिक मात्र नभई बाह्य कारणहरूको पनि प्रभाव छ। मध्यपूर्वमा बढ्दो तनाव, त्यसले विश्व अर्थतन्त्रमा पार्न सक्ने असर र सम्भावित मुद्रास्फीतिको डरले लगानीकर्तामा अन्योलता बढाएको छ। साथै, विश्व बैंक र एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर कमजोर रहने प्रक्षेपण गरेपछि पनि नकारात्मक सन्देश गएको छ। देशभित्र विकास खर्च कम हुनु पनि आर्थिक गतिविधि सुस्त हुनुको एक कारण हो।
केही ठूला व्यापारी अनुसन्धानको दायरामा पर्नु र ब्रोकर लिमिटमा कडाइ हुनु पनि कारोबार घट्नुका कारण मानिन्छन्। नेप्सेमा निरन्तर गिरावट र न्यून कारोबार रकमले बजारमा निराशा बढेको संकेत गर्छ। तर इतिहास हेर्दा, बजार चरम निराशाको अवस्थामा पुगेपछि नै नयाँ उचाइतर्फ उकालो लाग्ने प्रवृत्ति देखिन्छ।
यस्तो अवस्थामा प्यानिक भएर शेयर बेच्नु भन्दा खरिद गर्ने अवसरका रूपमा लिन सकिन्छ। बलियो आधारभूत अवस्था भएका कम्पनीहरू छनोट गरी धैर्यताका साथ लगानी गर्नु उपयुक्त हुन्छ। लगानीकर्ताहरूले कम्पनीको वित्तीय अवस्था र लाभांश क्षमताको विश्लेषण गरेर रणनीति बनाउनुपर्ने देखिन्छ।
प्रतिक्रिया 0