सरकारले पुँजी बजार सुधार तथा पुनरुत्थानका लागि अघि सारेको २१ बुँदे कार्ययोजनामा पूँजीगत लाभकरको व्यवस्था पुनरावलोकन गर्ने प्रस्ताव समेटिएको छ। प्रस्तावअनुसार लगानीकर्ताले खरिद गरेको शेयर ३६५ दिनभन्दा बढी समय होल्ड गरेर बिक्री गर्दा प्राप्त नाफामा ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम समय होल्ड गरी बिक्री गर्दा ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था प्रस्ताव गरिएको छ।
यस प्रस्तावको मुख्य उद्देश्य दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्नु र छोटो अवधिको सट्टेबाजीभन्दा दीर्घकालीन लगानीलाई तुलनात्मक रूपमा आकर्षक बनाउनु रहेको देखिन्छ। हालको व्यवस्थामा शेयर बिक्रीबाट प्राप्त लाभमा लाग्ने करको दर होल्डिङ अवधिअनुसार फरक हुने भए पनि सरकारले पुँजी बजार सुधार कार्ययोजनामार्फत यसलाई थप व्यवस्थित र लगानीमैत्री बनाउने प्रस्ताव अघि सारेको हो।
कार्ययोजनामा कारोबारका क्रममा भएको नोक्सानीलाई पनि लाभसँग समायोजन गर्न सकिने व्यवस्था गर्ने प्रस्ताव गरिएको छ। अर्थात् कुनै लगानीकर्ताले एकै अवधिमा केही शेयर बिक्री गर्दा नाफा र केही शेयर बिक्री गर्दा घाटा व्यहोरेको अवस्थामा घाटालाई नाफासँग घटाएर बाँकी रहेको खुद लाभमा मात्र पूँजीगत लाभकर लगाउने व्यवस्था गर्ने प्रस्ताव छ। यसले वास्तविक नाफामा मात्र कर लाग्ने भएकाले लगानीकर्तामाथिको कर भारलाई थप न्यायोचित बनाउन सक्ने अपेक्षा गरिएको छ।
उदाहरणका लागि, कुनै लगानीकर्ताले एउटा शेयर कारोबारबाट ५ लाख रुपैयाँ नाफा र अर्को कारोबारबाट २ लाख रुपैयाँ घाटा व्यहोरेमा प्रस्तावित व्यवस्थाअनुसार ५ लाख रुपैयाँमा होइन, ३ लाख रुपैयाँ खुद लाभमा मात्र पूँजीगत लाभकर गणना गर्ने अवधारणा हुनेछ। यसले कारोबारमा भएको समग्र परिणामलाई आधार बनाएर कर निर्धारण गर्ने बाटो खोल्नेछ।
यस्तै, लामो अवधिसम्म शेयर होल्ड गर्ने लगानीकर्ताका लागि कम करदर प्रस्ताव गरिएकाले यसले बजारमा दीर्घकालीन लगानीको संस्कृति विकास गर्न, अनावश्यक अल्पकालीन कारोबार घटाउन तथा पुँजी बजारलाई थप स्थिर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 0