सर्ट सेलिङ, मार्जिन लेन्डिङ र नेप्से पुनर्संरचना बोर्डको प्राथमिकतामा

शुक्रबार, ८ श्रावण २०८३, बेलुका ७:२७
Font Size: 20px

काठमाडौं, साउन ८ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको जनाएको छ। मार्गचित्रमा समावेश Short Selling, Margin Lending तथा Securities Lending and Borrowing (SLB) सम्बन्धी व्यवस्थाको अवधारणापत्र तयार भइसकेको र अन्तिम रूप दिएपछि केही दिनभित्रै सरोकारवालाको सुझावका लागि सार्वजनिक गरिने बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले जानकारी दिएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का पदाधिकारीसँग बिहीबार बोर्डको कार्यालय, खुमलटारमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष भट्टले पूँजी बजार सुधारका लागि बोर्डले नियामकीय र संरचनागत दुवै पक्षमा काम अघि बढाएको बताए। उनले पूँजी बजारलाई आधुनिक र प्रतिस्पर्धी बनाउन नयाँ वित्तीय उपकरण तथा कारोबार प्रणाली कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे।

अध्यक्ष भट्टले नेपाल धितोपत्र बोर्डलाई आईपीओ स्वीकृत गर्ने निकाय का रूपमा मात्र बुझ्ने धारणा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार बोर्डको कार्यक्षेत्र आईपीओ स्वीकृतिमा मात्र सीमित नभई स्टार्टअप, इक्विटी, ऋणपत्र (Debentures), डेरिभेटिभ्स कारोबार लगायतका सम्पूर्ण धितोपत्र बजारको नियमनसँग जोडिएको छ। हाल बोर्डले ७०० भन्दा बढी संस्था नियमन गरिरहेको र संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम भइरहेको उनले बताए।

कार्यक्रममा अध्यक्ष भट्टले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना बोर्डको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै यससम्बन्धी काम छिट्टै सुरु हुने जानकारी दिए। साथै, पूँजी बजारसम्बन्धी कानुनी संरचनालाई समयानुकूल बनाउन नेपाल धितोपत्र बोर्ड ऐन तथा कसुर र सजायसम्बन्धी छुट्टाछुट्टै कानुन तर्जुमाको गृहकार्य पनि सुरु भइसकेको बताए।

वस्तु विनिमय बजार (Commodity Exchange Market) सम्बन्धी जिज्ञासाको जवाफ दिँदै अध्यक्ष भट्टले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुग्ने गरी विशेषगरी कृषिजन्य वस्तुलाई प्राथमिकतामा राखेर वस्तु विनिमय बजार सञ्चालन गर्ने विषयमा आवश्यक अध्ययन भइरहेको जानकारी दिए।

यसअघि कार्यक्रममा नाफिजका अध्यक्ष मेनुका कार्कीले नवनियुक्त अध्यक्ष डा. भट्टलाई शुभकामना व्यक्त गर्दै बोर्ड र नाफिजबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने तथा पूँजी बजारसम्बन्धी प्राविधिक विषयमा आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएकी थिइन्। दुवै पक्षले पूँजी बजारसम्बन्धी सूचना प्रवाहलाई थप प्रभावकारी, तथ्यपरक र व्यावसायिक बनाउने विषयमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया 0