लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

Monday, 01 June 2026, 10:48 PM
4 पटक हेरियो
Font Size: 20px

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार दबाबमा परेको छ। बजेटपछि खुलेका कारोबार दिनहरूमा बजार घट्दो क्रममा देखिएको छ भने लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको रणनीतिमा रहेका छन् ।

विश्लेषकहरूका अनुसार बजार घट्नुका पछाडि एकभन्दा बढी कारण छन्। बजेटमा पूँजी बजारका लागि केही सकारात्मक व्यवस्था भए पनि लगानीकर्ताले अपेक्षा गरेको स्तरको ठोस सुधारात्मक कार्यक्रम नआएको महसुस गरेका छन्। विशेषगरी बजारलाई प्रत्यक्ष प्रभाव पार्ने नीतिगत घोषणा र कार्यान्वयनको स्पष्ट खाका नदेखिएकाले लगानीकर्ताको मनोबल बलियो बन्न सकेको छैन ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, ब्याजदर घट्दो क्रममा रहेको तथा कर्जा प्रवाह विस्तार हुने सम्भावना रहे पनि त्यसको सकारात्मक प्रभाव तत्काल सेयर बजारमा देखिन सकेको छैन। लगानीकर्ताहरू अहिले नेपाल राष्ट्र बैंकको आगामी मौद्रिक नीतिप्रति बढी केन्द्रित देखिएका छन् ।

विशेषगरी सेयर धितो कर्जा, संस्थागत लगानी, बजार विस्तार तथा वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत व्यवस्थामा राष्ट्र बैंकले कस्तो दृष्टिकोण अपनाउँछ भन्ने कुराले आगामी दिनको बजार दिशा निर्धारण गर्ने विश्लेषकहरूको भनाइ छ ।

यद्यपि अर्थतन्त्रका अधिकांश सूचकहरू सुधारोन्मुख अवस्थामा रहेका, विदेशी मुद्रा सञ्चिति उच्च रहेको, बैंकिङ प्रणालीमा लगानीयोग्य रकम प्रशस्त रहेको तथा ब्याजदर घट्दो प्रवृत्तिमा रहेकाले दीर्घकालीन रूपमा पूँजी बजारका आधारभूत पक्षहरू भने सकारात्मक रहेको विश्लेषण गरिएको छ ।

विश्लेषकहरूका अनुसार हालको गिरावटलाई धेरैले बजारको स्वाभाविक करेक्सनका रूपमा हेरेका छन् भने आगामी मौद्रिक नीति र बजेट कार्यान्वयनको गति अनुसार बजारले नयाँ दिशा लिन सक्ने अपेक्षा गरिएको छ ।

2 घण्टा अगाडि
4 पटक हेरियो

प्रतिक्रिया 0