काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको धितोपत्र बजारमा देखिएका समस्या समाधान तथा लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ। बोर्डले बजार सुधारका लागि विस्तृत कार्ययोजना र पूँजी बजार विकाससम्बन्धी मार्गचित्र आगामी साताभित्र सार्वजनिक गरी कार्यान्वयनमा लैजाने जानकारी दिएको छ।
बिहीबार जारी विज्ञप्तिमा बोर्डले हाल पूँजी बजारमा देखिएका समस्या तथा लगानीकर्ताबाट प्राप्त गुनासोप्रति आफू गम्भीर रहेको उल्लेख गरेको छ। बजारलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन आवश्यक सुधारका कार्यक्रमलाई समयबद्ध रूपमा अघि बढाइने बोर्डको भनाइ छ।
सेबोनले इजाजतपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सम्बन्धित संस्थाहरूलाई बोर्डबाट जारी भएका निर्देशन र मर्जिन कारोबारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको छ। साथै, धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया, नियामकीय व्यवस्था तथा बजारसँग सम्बन्धित विद्यमान कानुनहरूको समसामयिक पुनरावलोकन सुरु गरिएको जनाएको छ।
विज्ञप्तिअनुसार धितोपत्रसम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली, अन्य सम्बन्धित नियमावली तथा सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिकासहितका कानुनी व्यवस्थामा आवश्यक संशोधन तथा सुधारको प्रक्रिया अगाडि बढाइएको छ।
बोर्डले लगानीकर्ताको हित संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै बजारमा फैलिने हल्ला, बहकाउ तथा अफवाहको पछि नलाग्न आग्रह गरेको छ। साथै, आफ्नो अध्ययन, विश्लेषण र जोखिम वहन गर्ने क्षमताका आधारमा मात्र विवेकपूर्ण लगानी निर्णय लिन सबै लगानीकर्तालाई अनुरोध गरेको छ।
प्रतिक्रिया 0