सेबोनलाई नियामकीय गुणस्तर बढाउन अर्थमन्त्रीको निर्देशन

दीर्घकालीन मार्गचित्रअनुसार पूँजी बजार सुधारले गति लिँदैछ - बोर्ड अध्यक्ष

सोमबार, ११ श्रावण २०८३, राति ९:३९
Font Size: 20px

काठमाडौं साउन ११, २०८३

नवनियुक्त अध्यक्षको नेतृत्वमा दीर्घकालीन रणनीतिसहित अघि बढेको नेपाल धितोपत्र बोर्ड (SEBON) लाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उच्च नैतिकता, सुदृढ नियमन र संस्थागत विकासलाई केन्द्रमा राखेर पूँजी बजार सुधार अघि बढाउन निर्देशन दिएका छन्।

सोमबार बोर्डको कार्यालय भ्रमणका क्रममा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले नियामकीय गुणस्तर (Regulatory Quality) अभिवृद्धि गर्दै बजार विकासलाई दिगो, पारदर्शी र लगानीकर्तामैत्री बनाउने गरी काम गर्न आग्रह गरे। कार्यक्रममा अर्थ सचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालयका उच्च अधिकारी, बोर्ड सञ्चालक समिति तथा बोर्डका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

बोर्ड अध्यक्ष डा. गोपालप्रसाद भट्टले स्वागत मन्तव्य राख्दै पूँजी बजार विकासका लागि बोर्डले अघि बढाएका प्रमुख कार्यक्रमहरूको जानकारी गराएका थिए। उनले Capital Market Development Blueprint तयार भई कार्यान्वयनमा गएको र आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा कार्ययोजना कार्यान्वयन सुरु भइसकेको बताए।

अध्यक्ष भट्टका अनुसार साउनभित्रै प्राथमिक र दोस्रो बजारसँग सम्बन्धित विभिन्न विषयमा परामर्शपत्र (Consultative Papers), नियम तथा निर्देशिकाको मस्यौदा तयार गरिनेछ। यसमा IPO, Intraday Trading, Margin Lending, Short Selling लगायतका विषय समेटिनेछन्। प्राप्त सुझावका आधारमा भदौ महिनादेखि सरोकारवालासँग विस्तृत परामर्श गरी आवश्यक कानुनी तथा नियामकीय परिमार्जन अघि बढाइने योजना रहेको उनले जानकारी दिए।

उनले पूँजी बजार विकासमा देखिएका चुनौती, नीति निर्माणमा आवश्यक सहजीकरण तथा बोर्डका कर्मचारीको कार्यउत्साह अभिवृद्धिका लागि अर्थ मन्त्रालयको सहयोग आवश्यक रहेको पनि उल्लेख गरे।

सम्बोधनका क्रममा अर्थमन्त्री वाग्लेले सेबोनलाई “विचलनरहित, गह्रुँगो र विश्वसनीय नियामक” का रूपमा विकास गर्नुपर्ने बताए। उनले नेपाल राष्ट्र बैंकजस्तै वित्तीय प्रणालीमा सेबोनको पनि सशक्त भूमिका रहेको उल्लेख गर्दै सोही स्तरको संस्थागत क्षमता निर्माणमा जोड दिए।

उनले पछिल्ला वर्षहरूमा डिम्याट खाताको संख्या तीव्र रूपमा बढेसँगै लगानीकर्ताको अपेक्षा पनि बढेको भन्दै त्यसअनुसार सेबोनको संस्थागत सुदृढीकरण आवश्यक रहेको बताए। नीति निर्माण गर्दा Political Economy को दृष्टिकोण अपनाई सम्बन्धित पक्षहरूसँग पर्याप्त छलफलपछि मात्र कार्यान्वयन गर्नुपर्नेमा उनले विशेष जोड दिए।

अर्थमन्त्रीले नयाँ सरकार र नयाँ नेतृत्वसँगै सेबोनको कार्यशैलीमा सकारात्मक परिवर्तनको सन्देश बजारमा गएको उल्लेख गर्दै नियामकीय र कानुनी सुधारका लागि नेपाल सरकारबाट आवश्यक सबै प्रकारको सहजीकरण उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे।

बोर्ड भ्रमणलाई पूँजी बजार सुधारको आगामी चरणसँग जोडेर हेरिएको छ। सेबोनले दीर्घकालीन रणनीति, नयाँ उपकरणको तयारी, लगानीकर्ता संरक्षण र संस्थागत सुधारलाई एकसाथ अघि बढाउने संकेत दिएको छ, जसले आगामी महिनाहरूमा नेपालको पूँजी बजारमा संरचनात्मक परिवर्तनको आधार तयार पार्न सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया 0