कम्पनीको वित्तीय स्वास्थ्य र सुशासन बलियो बनाउन जोड
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रियालाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउन लागू गरिएको ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ सम्बन्धमा मर्चेन्ट बैंकरहरूका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
ललितपुरस्थित बोर्डको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा मर्चेन्ट बैंकर संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा उच्च पदस्थ अधिकारीहरू, बोर्डका अध्यक्ष, पदाधिकारी र कर्मचारीसहित करिब ६५ जनाको सहभागिता रहेको थियो।
बोर्डले सार्वजनिक निष्काशनका क्रममा पेश हुने वित्तीय विवरणहरूको गुणस्तर, विश्वसनीयता तथा वित्तीय सुशासन अभिवृद्धि गर्दै आईपीओ प्रक्रियालाई थप उत्तरदायी र व्यवस्थित बनाउने उद्देश्यले २०८३ वैशाख १ गतेदेखि उक्त मापदण्ड कार्यान्वयनमा ल्याएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट ले नेपालको प्राथमिक पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीकर्तामैत्री बनाउन बोर्डले आवश्यक नीतिगत तथा नियामकीय सुधारलाई निरन्तर अघि बढाइरहेको बताए।
उनले प्राथमिक सार्वजनिक निष्काशन प्रक्रियामा देखिएका सुधारका आवश्यक पक्षलाई समेटेर ‘प्राथमिक बजार सुधारसम्बन्धी श्वेतपत्र (Primary Market White Paper)’ सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। उक्त श्वेतपत्रमार्फत आईपीओ प्रक्रियालाई थप व्यवस्थित बनाउने, लगानीकर्ताको हित संरक्षण गर्ने, संस्थागत सुशासन प्रवर्द्धन गर्ने तथा पूँजी बजारप्रति जनविश्वास अभिवृद्धि गर्ने बोर्डको लक्ष्य रहेको उनको भनाइ थियो।
अध्यक्ष भट्टले प्राथमिक बजारमा मर्चेन्ट बैंकरहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूले बजारप्रति उत्तरदायी भई लगानीकर्ताको हित संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। साथै, नयाँ मापदण्डको प्रभावकारी कार्यान्वयनबाट आईपीओ जारी गर्ने कम्पनीहरूको वित्तीय स्वास्थ्य, पारदर्शिता र संस्थागत सुशासन थप सुदृढ हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोर्ड सदस्य तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का अध्यक्ष आनन्दराज शर्मा वाग्ले ले नयाँ मापदण्डका प्रमुख व्यवस्था, कार्यान्वयन प्रक्रिया र यसको आवश्यकता सम्बन्धमा विस्तृत प्रस्तुति दिएका थिए। उनले सार्वजनिक निष्काशनका लागि पेश गरिने वित्तीय विवरणहरूको गुणस्तर तथा विश्वसनीयता अभिवृद्धि गर्न यो मापदण्ड प्रभावकारी आधार बन्ने बताए।
कार्यक्रमका सहभागीहरूले उठाएका जिज्ञासाको जवाफ बोर्डका पदाधिकारीहरूले दिएका थिए। बोर्डका अनुसार यस्ता अभिमुखीकरण कार्यक्रमले मापदण्डको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्नुका साथै प्राथमिक बजारमा पारदर्शिता, सुशासन र लगानीकर्ता संरक्षणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
बेन्चमार्क इन्डेक्स: बजारको वास्तविक सूचक
पूँजी बजार सुधारमा सेबोनका ८ प्राथमिकता सार्वजनिक
पुँजी बजार सुधारको १० वर्षे खाका; २०३६ सम्म अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी बजार बनाउने योजना
प्रतिक्रिया 0