एनआरएन लगानी भित्र्याउन सेबोनको छलफल

बुधबार, १३ श्रावण २०८३, राति ८:३३
Font Size: 20px

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) र गैरआवासीय नेपाली (एनआरएन) का प्रतिनिधिबीच गैरआवासीय नेपालीलाई नेपालको पूँजी बजारमा सहभागी गराउने विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

ललितपुरस्थित बोर्ड कार्यालयमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्ट सहित उच्च पदाधिकारी तथा गैरआवासीय नेपालीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष भट्टले नेपाल सरकारको बजेट वक्तव्यअनुसार गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन आवश्यक कानुनी सुधारको प्रक्रिया अघि बढाइने जानकारी दिए। उनले बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिमा समेत उक्त विषय समावेश गरी आवश्यक कार्य अगाडि बढाउने तयारी गरेको बताए।

उनले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीप, ज्ञान र पूँजी नेपालको भौतिक पूर्वाधार तथा आर्थिक विकासमा परिचालन गर्न बोर्ड आवश्यक सहजीकरण गर्न तयार रहेको धारणा पनि व्यक्त गरे।

छलफलका क्रममा गैरआवासीय नेपालीका प्रतिनिधिहरूले सरकार र बोर्डको पहलले नेपालको पूँजी बजारमा लगानी गर्ने वातावरण क्रमशः बन्दै गएको उल्लेख गरे। उनीहरूले नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनी मार्फत सार्वजनिक निष्कासन (IPO) गरेर गैरआवासीय नेपाली तथा विदेशमा रहेका नेपालीबाट पूँजी संकलन गर्ने योजना रहेको जानकारी गराए।

साथै, भविष्यमा पूर्वाधार आयोजनाका लागि बण्ड तथा डिबेन्चर जारी गरी थप लगानी जुटाउने योजना रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा बोर्डको सहजीकरण आवश्यक रहेको आग्रह समेत गरेका छन्।

यस छलफलले गैरआवासीय नेपालीलाई नेपालको पूँजी बजारमा सहभागी गराउने सरकारी योजनालाई कार्यान्वयनतर्फ अघि बढाउने संकेत दिएको छ। आवश्यक कानुनी सुधार पूरा भएमा विदेशमा रहेका नेपालीको पूँजी, ज्ञान र अनुभवलाई नेपालको पूर्वाधार विकास तथा पूँजी बजार विस्तारमा उपयोग गर्ने नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया 0