कारोबार अवरुद्ध भएपछि छानबिन टोली गठन

सोमबार, ५ आश्विन २०८३, बेलुका ४:४०


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट धितोपत्र दलाल व्यवसाय सञ्चालनको अनुमति प्राप्त ९२ कम्पनीमध्ये ७२ व्यवसायीको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि धितोपत्र कारोबार प्रभावित भएको छ। नेपाल धितोपत्र बोर्डले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल छानबिन तथा सुधार प्रक्रिया अघि बढाएको छ।

बोर्डका अनुसार २०८३ असोज ४ गते बिहानदेखि धितोपत्र दलाल व्यवसायीको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि सोही दिन कारोबार स्थगित भएको जानकारी प्राप्त भएको थियो। घटनाका कारण धितोपत्र कारोबारमा उत्पन्न विषम परिस्थितिबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता घटना पुनः दोहोरिन नदिन आवश्यक सुधारसहितको प्रतिवेदन पेश गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको छ।

बोर्डले २०८३ असोज १२ गतेभित्र आवश्यक अध्ययन, जाँचबुझ र सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। यससँगै भविष्यमा यस्ता प्राविधिक समस्या दोहोरिन नदिन डाटा सेन्टर तथा कारोबार प्रणालीको प्राविधिक पूर्वाधार, सुरक्षा र सञ्चालन व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

घटनाको कारण पहिचान गरी तत्काल आवश्यक कदम चाल्न बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाइएको छ। उक्त टोलीले प्राविधिकलगायतका समस्या पहिचान गरी कारोबार रोक्नुपर्ने अवस्था किन आयो भन्ने विषयमा आवश्यक निरीक्षण तथा अध्ययन गर्नेछ।

नेपालको दोस्रो बजारको मुख्य सञ्चालन प्रणाली नेप्सेसँग जोडिएका ब्रोकर तथा डाटा सेन्टरको प्राविधिक पूर्वाधारमा आएको समस्याले बजार सञ्चालनको निरन्तरता र प्रणालीगत जोखिम व्यवस्थापनको महत्वलाई समेत उजागर गरेको छ। बोर्डले आगामी दिनमा नेपालको धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित एवं पारदर्शी बनाउन थप आवश्यक कार्य अघि बढाउने जनाएको छ।


प्रतिक्रिया 0