सर्ट सेलिङ लागू गर्न नेप्से–सिडिएससीलाई बोर्डको निर्देशन

बिहीबार, ३२ असार २०८३, राति ११:०३
Font Size: 20px

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजार विकास मार्गचित्र–२०८३ तथा आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति कार्यान्वयनलाई तीव्रता दिँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) लाई ठोस कार्ययोजना तयार गरी यथाशीघ्र बोर्डमा पेश गर्न निर्देशन दिएको छ।

बोर्डले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पूँजी बजारमा नयाँ वित्तीय उपकरण तथा सेवा विविधीकरणलाई उच्च प्राथमिकतामा राखेको छ। सोही नीतिको प्रभावकारी कार्यान्वयनका लागि बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टको उपस्थितिमा नेप्से र सीडीएससीका उच्च पदस्थ अधिकारीसँग उच्चस्तरीय छलफल गरिएको हो।

छलफलमा आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिअनुसार नेप्से र सीडीएससीले कार्यान्वयन गर्नुपर्ने कार्यक्रम, समयसीमा तथा आवश्यक तयारीबारे समीक्षा गरिएको थियो। त्यसपछि बोर्डले सम्बन्धित निकायलाई आफ्नो जिम्मेवारीभित्र पर्ने कार्यक्रमहरूको विस्तृत कार्ययोजना तयार गरी शीघ्र बोर्डमा पेश गर्न निर्देशन दिएको जनाएको छ।

यसैगरी, बोर्डले ‘सर्ट सेलिङ (Short Selling)’ सेवा सञ्चालनलाई प्राथमिकतामा राख्दै त्यसका लागि आवश्यक कानुनी संशोधन, जनशक्ति व्यवस्थापन, प्रविधिगत पूर्वाधार तथा सञ्चालन संरचनाको आवश्यकता पहिचान गरी कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको छ। आवश्यक पूर्वाधार विकास तथा कानुनी सुधारका लागि बोर्डले पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाएको छ।

बोर्डका अनुसार यी कदमले नेपालको पूँजी बजारलाई थप आधुनिक, प्रतिस्पर्धी, पारदर्शी र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउँदै लगानीकर्तालाई थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया 0