५ प्रतिशतभन्दा बढी शेयर बिक्रीमा १५ दिने अग्रिम सूचना

सेबोनको अवधारणापत्र सार्वजनिक

बुधबार, ७ आश्विन २०८३, राति ९:२२


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले ठूलो परिमाणमा शेयर बिक्री गर्नुअघि बजारलाई अग्रिम जानकारी दिनुपर्ने व्यवस्थासम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको छ। बोर्डले २०८३ भदौ ९ गते धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४(१) बमोजिम निर्देशन जारी गर्दै आधारभूत शेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्न चाहेमा कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ। यस्तो सूचना कम्पनीले नेप्सेमार्फत सार्वजनिक गर्नुपर्नेछ।

सेबोनका अनुसार अग्रिम सूचना व्यवस्थाको उद्देश्य बजारमा ठूलो परिमाणको शेयर आपूर्ति आउन सक्ने जानकारी लगानीकर्तालाई समयमै उपलब्ध गराउनु, सबै लगानीकर्ताको सूचनामा समान पहुँच सुनिश्चित गर्नु र बजार निगरानीलाई प्रभावकारी बनाउनु हो। ठूलो शेयर बिक्रीबाट उत्पन्न हुन सक्ने बिक्री चाप, असामान्य मूल्य उतारचढाव तथा कारोबार गतिविधि पहिचान गर्न पनि यसले सहयोग गर्ने बोर्डको भनाइ छ। साथै, धितोपत्रसम्बन्धी कसूर तथा बजार दुरुपयोगको निगरानीमा समेत अग्रिम सूचनालाई उपयोग गर्न सकिने अपेक्षा गरिएको छ।

अवधारणापत्रमा भारत, बंगलादेश, सिंगापुर, अमेरिका, बेलायत र मलेसियालगायतका मुलुकमा रहेको शेयर बिक्री तथा सूचना प्रकटीकरणसम्बन्धी अभ्यासको अध्ययन गरिएको छ। ती बजारमा सबै ठाउँमा एउटै व्यवस्था नभएको र कतिपयमा निश्चित ठूलो बिक्रीअघि सूचना दिने तथा कतिपयमा कारोबारपछि छोटो अवधिभित्र सूचना सार्वजनिक गर्ने प्रणाली रहेको बोर्डले उल्लेख गरेको छ। नेपालको बजारमा स्वामित्वको उच्च एकाग्रता, सीमित ‘फ्रि फ्लोट’, ठूलो प्रवर्द्धक तथा आधारभूत शेयरधनीको उपस्थिति र खुद्रा लगानीकर्ताको उल्लेख्य सहभागितालाई ध्यानमा राखेर १५ दिने व्यवस्था अघि सारिएको हो।

प्रस्तावित नियामकीय ढाँचामा अग्रिम सूचना दर्ता, सार्वजनिक प्रकटीकरण, बजार निगरानी, वास्तविक कारोबारको पुष्टि र कारोबारपछिको विवरण सार्वजनिक गर्ने प्रणाली विकास गर्ने प्रस्ताव छ। शेयरधनीले आफ्नो कुल शेयरधारण, बिक्री गर्न लागेको शेयर संख्या, कुल धारणमा बिक्रीको हिस्सा र प्रस्तावित बिक्री अवधिजस्ता विवरण सार्वजनिक गर्नुपर्नेछ। तर बिक्री मूल्य, कुन ब्रोकरमार्फत वा कुन मूल्यस्तरमा बिक्री गर्ने भन्ने विस्तृत कारोबार रणनीति अग्रिम रूपमा सार्वजनिक नगर्ने प्रस्ताव गरिएको छ। अग्रिम सूचना शेयर बिक्री भइसकेको प्रमाण नभई बिक्री गर्ने मनसायको सूचना मात्र हुने स्पष्ट पारिएको छ।

सेबोनले बजारको अवस्था परिवर्तनसँगै १५ दिने सूचना अवधिको पुनरावलोकन गर्न सकिने जनाएको छ। बजारमा नगण्य प्रभाव पार्ने साना कारोबारलाई अनावश्यक प्रकटीकरणको भारबाट मुक्त गर्न ‘मटेरियलिटी’ मापदण्ड विकास गर्ने प्रस्तावसमेत गरिएको छ। बोर्डका अनुसार समग्र व्यवस्थाले बजार पारदर्शिता र जोखिममा आधारित निगरानी बढाउनुका साथै ठूलो परिमाणको शेयर बिक्रीबाट हुन सक्ने असामान्य मूल्य उतारचढाव तथा बिक्री चाप व्यवस्थापन गर्न, साना लगानीकर्ताको संरक्षण गर्न र धितोपत्र बजारप्रतिको लगानीकर्ताको विश्वास सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया 0