काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमासम्बन्धी व्यवस्था अस्थायी रूपमा बढाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा प्रदायकहरूलाई पठाएको सूचनाअनुसार, प्राकृतिक व्यक्तिले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्न सकिने सीमामा अस्थायी वृद्धि गरिएको हो।
राष्ट्र बैंकका अनुसार भुक्तानीसम्बन्धी एकीकृत निर्देशन, २०८२ को व्यवस्थाअनुसार प्राकृतिक व्यक्तिको वालेटमा दैनिक अधिकतम १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा दशैंको अवसरमा २०८३ असोज २१ गतेदेखि २०८३ कात्तिक ८ गतेसम्म दैनिक अधिकतम ५० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।
त्यस्तै, शुभ दीपावली तथा छठ पर्वका अवसरमा २०८३ कात्तिक २१ गतेदेखि २०८३ कात्तिक २९ गतेसम्म पनि प्राकृतिक व्यक्तिको वालेटमा दैनिक अधिकतम ५० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था लागू हुनेछ।
राष्ट्र बैंकले उक्त अवधिमा भएको कारोबारको संख्या र कुल रकमसम्बन्धी विवरण विभागलाई जानकारी गराउन भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।
प्रतिक्रिया 0