बैंक कर्मचारीको श्रम अधिकारमा राष्ट्र बैंकको नयाँ सर्कुलर

Saturday, 23 May 2026, 05:32 PM
4 पटक हेरियो
Font Size: 20px

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कार्यालय समयभन्दा बढी काममा लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक (ओभरटाइम) उपलब्ध गराउन निर्देशन दिएको छ।

राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै कर्मचारीलाई कार्यालय समयपछि जबर्जस्ती काममा लगाउन नपाइने स्पष्ट व्यवस्था गरेको हो। विशेष अवस्थामा अतिरिक्त समय काम गराउनुपरे प्रचलित श्रम कानुनअनुसार ‘ओभरटाइम’ भत्ता दिनुपर्ने व्यवस्था गरिएको छ।

नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले कर्मचारीको कार्यसमय, बिदा, पारिश्रमिक तथा श्रम अधिकारसम्बन्धी कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्नुपर्नेछ। कर्मचारीको सहमतिबिना अतिरिक्त समय काममा लगाउन नपाइने व्यवस्था पनि गरिएको छ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा बढ्दो कार्यचाप, लक्ष्यको दबाब तथा लामो समयसम्म काम गराउनुपर्ने गुनासो बढिरहेका बेला राष्ट्र बैंकको यो कदम आएको हो। बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी संगठनहरूले अवास्तविक लक्ष्य, सीमित जनशक्तिबाट धेरै काम गराउने प्रवृत्ति र मानसिक दबाबले कर्मचारीमा तनाव बढेको बताउँदै आएका छन्।

यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पनि बैंक तथा वित्तीय संस्थामा श्रम कानुन प्रभावकारी रूपमा लागू गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो। विशेषगरी आउटसोर्सिङमार्फत कार्यरत सुरक्षागार्ड, चालक र सहयोगी कर्मचारीलाई न्यूनतम पारिश्रमिक, बिदा, दशैं भत्ता तथा ओभरटाइम सुविधा नदिएको गुनासो आएपछि सरकार सक्रिय बनेको हो।

राष्ट्र बैंकको नयाँ निर्देशनपछि बैंकहरूले कर्मचारी व्यवस्थापन, कार्यघण्टा र अतिरिक्त कामसम्बन्धी अभ्यासमा सुधार गर्नुपर्ने अपेक्षा गरिएको छ।


9 घण्टा अगाडि
4 पटक हेरियो

प्रतिक्रिया 0