काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार सूचना जारी गर्दै २०८३ असार १० गते अनलाइन बोलकबोल प्रणालीमार्फत ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरिने जनाएको हो। संकलित निक्षेपको अवधि ७९ दिन रहनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ भदौ २६ गते गरिनेछ।
सूचनाअनुसार निक्षेप संकलनका लागि ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले मात्र बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन्।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। एउटै संस्थाले विभिन्न ब्याजदरमा पनि बोलकबोल गर्न सक्नेछ।
राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीमा उच्च तरलता कायम रहेकाले खुला बजार कारोबार उपकरणमार्फत बजारबाट रकम तान्ने नीति निरन्तर अवलम्बन गर्दै आएको छ। यसअन्तर्गत निक्षेप संकलन उपकरण प्रयोग गरी अतिरिक्त तरलता व्यवस्थापन गर्ने गरिएको छ।
राष्ट्र बैंकका अनुसार संकलित रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात (SLR) तथा Liquidity Ratio मा भने गणना गर्न सकिनेछ।
प्रतिक्रिया 0