काठमाडौं । पश्चिम एसियामा जारी युद्ध र तनावका बाबजुद चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालमा साढे १६ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह उल्लेख्य रूपमा बढेर करिब १६ खर्ब ५० अर्ब रुपैयाँ पुगेको हो । चैत महिनामा मात्रै २ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको तथ्यांकले देखाएको छ ।
पश्चिम एसियाका विभिन्न मुलुकमा सुरक्षा चुनौती र श्रम बजारमा अनिश्चितता देखिए पनि नेपाली कामदारबाट हुने रकम पठाउने क्रम भने प्रभावित नभएको देखिएको छ । विशेषगरी कतार, साउदी अरेबिया, यूएई, कुवेत तथा मलेसियाबाट उच्च रेमिट्यान्स आएको राष्ट्र बैंकको विश्लेषण छ ।
औपचारिक माध्यमबाट रकम पठाउने प्रवृत्ति बढ्नु, वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि हुनु तथा अमेरिकी डलर बलियो रहनुले रेमिट्यान्स आप्रवाहमा सकारात्मक प्रभाव परेको बताइएको छ ।
रेमिट्यान्स वृद्धिसँगै विदेशी मुद्रा सञ्चिति, बैंकिङ प्रणालीको तरलता र आन्तरिक उपभोगमा सुधार देखिएको छ । यद्यपि विज्ञहरूले वैदेशिक आम्दानीमा अत्यधिक निर्भरता दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन सक्ने भन्दै उत्पादन, उद्योग र रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
प्रतिक्रिया 0